समायोजनले कर्मचारीविहीन भेरी अस्पताल
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारीको समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको अभाव भएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समायोजनपछि स्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्ति खाली भएको छ ।
स्वास्थ्य सेवामा यो झनै चुनौतीपूर्ण र पेचिलो बनेको छ । सरकारी सेवामा रहेका चिकित्सक आन्दोलित छन् ।
भेरी अस्पताल कार्यरतमध्ये ३५ कर्मचारी प्रदेशमा समायोजन गरिएका छन् जसअन्तर्गत २७ स्टाफ नर्समध्ये दुई नर्सिङ अधिकृतसहित आठ संघमा परेका छन् । अरू १९ प्रदेशमा परेको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले जानकारी दिए ।
बुधबारदेखि नर्स र ल्याब कर्मचारीविहीनजस्तै भएको अस्पतालका निमित्त प्रमुख अधिकारीले बताए ।
अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले शय्या थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अवस्थामा समायोजनका नाममा भएका कर्मचारी पनि प्रदेशमा पठाउँदा अस्पताल नर्स तथा ल्याब कर्मचारी विहीनझैं हुन पुगेको उनले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा रहेका ४३ नर्सको दरबन्दीमा अहिले करीब २६ नियमित सेवामै थिए । “केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा हुनुहुन्छ । भएका नर्समध्ये मन्त्रालयले अहिले १६ बढीलाई प्रदेशमा पठाएको छ”, उनले भने, “अब हामीसँग आठ मात्रै नर्स संघमा रहनुभएको छ । गुणस्तरीय सेवा प्रवाह गर्न कठिन भइरहेको छ ।”
सरकारी मापदण्डअनुसार एउटा नर्सले एक सिफ्टमा ६ जनासम्म बिरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ सम्म बिरामी हेर्नुपर्ने अवस्था छ । ल्याबमा रहेका सबै ६ कर्मचारी प्रदेशमा गएपछि भेरी अस्पतालको ल्याब पनि खाली भएको उनले बताए ।
सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो ।