कोरोनाभन्दा डरले बिरामी !
मनोचिकित्सक तथा मनोविद्हरुका अनुसार कोरोना संक्रमण बढ्दै जाँदा मानसिक स्वास्थ्य समस्या हुनेको संख्या पनि बढिरहेको छ। कोरोना संक्रमित हुने डरले नै धेरै जना बिरामी परिरहेका छन्।
मोरङ घर भई काठमाडाैंको गैह्रीधारा बस्ने रिना गौतमलाई केही समयदेखि मनमा डर लागे जस्तो हुन्छ। मुटु ढुकढुक भइरहन्छ। “यो कोरोनाको औषधि कहिले पत्ता लाग्छ र ढुक्क हुनु जस्तो भइरहेको छ”, उनी भन्छिन्। एक निजी कम्पनीमा कार्यरत रिना डेरामा एक्लै बस्छिन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा छन्।
आफूसँगै कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपछि नै उनलाई डर लाग्न थालेको हो। उनका सहकर्मी आईसीयूमा छन्। उनको भने पीसीआर जाँचको नतिजा ‘नेगेटिभ’ आएको छ। तर, मनको डर हराएको छैन।
सहकर्मी संक्रमित भएको थाहा पाएपछि श्रीमानले घर जान सुझाइरहेका छन्। तर, घरमा वृद्ध बूढीसासू र बालबालिका छन्। त्यसैले उनी दशैंमा पनि घर गइनन्। एकदमै बेचैन भएको अनुभव हुन थालेपछि आफूले मनोचिकित्सकसँग सुझाव तथा परामर्श लिइरहेको उनी बताउँछिन्।
अझ कतिपय त कोराेनाभाइरसबाट बिरामी भएकाहरुबारे समाचार पढेर पनि डराउन थालेका छन्। संक्रमित भएर उपचार गराएकाहरुको कष्ट थाहा पाएपछि डर बढ्दो छ। कतिपय भने आफन्त, साथी वा छिमेकीको काेरोनाका कारण मृत्यु हुँदा डराउन थालेका छन्। त्यही डर नै मानसिक रोगको कारण बनेको छ।
काठमाडौंको जोरपाटी निवासी मनोज थापा बन्दाबन्दीपछि घरबाट टाढा निस्केका छैनन्। उनको घरको भुईंतलामा आफ्नै किराना पसल छ। उनलाई मधुमेह छ। त्यसैले बाहिर निस्किए कोराेना संक्रमण हुने डरले घरैमा बसेका छन्।
बन्दाबन्दी खुकुलो भएसँगै उनले पनि पसल खोले। तर, दुई हप्ताअघि उनका छिमेकीको कोरोनाकै कारण मृत्यु भयो। त्यसपछि उनलाई झनै डर लाग्न थालेको छ। थापा भन्छन्, “हामीभन्दा सानो उमेरको, रोग पनि केही नभएको मान्छे मरेपछि एकदम धेरै डर लाग्न थालेको छ। डरले नै हो कि मुटु साह्रो ढुकढुकाउँछ।”
ललितपुरको चाकुपाट बस्ने पुनम मगरलाई पनि एक महीना यता अनिद्राले सताउन थालेको छ। खानामा रुचि हुँदैन। उनको साथीको बुवाको कोरोना संक्रमणका कारण निधन भएपछि उनलाई यस्तो समस्या देखिएको हो। उनी भन्छिन्, “मेरो एकदम मिल्ने साथीको बुवा कोरोनाकै कारण बित्नुभयो। परिवारले बुवालाई अन्तिम बिदाइ पनि गर्न पाएनन्। त्यो कुराले मलाई तनाव दिएको छ।”
सुनसरी घर भएकी पुनम अध्ययनको सिलसिलामा ललितपुर बसेकी हुन्। अहिले उनी मनोपरामर्शदाताको सहयोग लिइरहेकी छिन्। मगर भन्छिन्, “कसैले कोरोनाको औषधि पत्ता लाग्यो भन्ने समाचार सुनाए पनि हुने जस्तो भइरहन्छ।”
कोरोना संक्रमितको संख्या बढेसँगै यसको भयले मानसिक स्वास्थ्य समस्या बढेको छ। डर लागेको, मुटुको चाल बढेको, निद्रा नलागेको, खानामा रुचि नभएको, आलस्य अनुभव भएको जस्ता समस्या लिएर फोन गर्नेको संख्या बढेको शिक्षण अस्पतालको मनोरोग तथा मानसिक स्वास्थ्य विभागका प्रमुख प्रा.डा. सरोजप्रसाद वझा बताउँछन्।
दीर्घ रोगीलाई कोरोना संक्रमण हुँदा गाह्रो हुन्छ अथवा बाँच्ने सम्भावना कम हुन्छ भन्ने सूचना अति धेरै फैलिएकाले उनीहरुमा मानसिक तनाव बढेको छ। त्यसैले घरमा भएका वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरुलाई परिवारका अन्य सदस्यले समय दिनुपर्छ।
उनका अनुसार कोरोनाको त्रासका कारण यस्तो समस्या बढेको हो। वझाले अहिले फोनबाट नै आवश्यक परामर्श एवं औषधिहरु सिफारिश गरिरहेका छन्। कोरोना संक्रमणको डरले नै बिरामी परेका कतिपय चिकित्सकको सम्पर्कमा छैनन्। वझा भन्छन्, “अलिक सचेत व्यक्तिहरुले मात्र मनोचिकित्सक तथा मनोपरामर्शकर्तालाई फोन गरेर सहयोग लिइरहेका छन्। यसबारे ज्ञान नभएकाहरु घरैमा बसिरहेका छन्।”
तर, मनोपरामर्शकर्ताको सल्लाह नलिई डराएरै घरमा बसिरहँदा एन्जाइटी र डिप्रेसन हुन जान्छ। त्यसैले मानिसमा फैलिएको त्रास न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ। अहिले मानसिक स्वास्थ्य समस्या महिलाभन्दा पुरुषमा बढी देखिइरहेको पनि उनी बताउँछन्।
मनोविद् डा.नरेन्द्र ठगुन्ना कोरोनाको त्रासले राति निद्रा नपर्ने र निद्रा नपरेपछि मोबाइलमा इन्टरनेट चलाइरहने बानीले झनै समस्या निम्तिरहेको बताउँछन्। उनी भन्छन्, “डरबाट मुक्ति पाउन नेट चलाउने र धेरै नेट चलाउन थालेपछि लत बसेकाहरुको संख्या बढिरहेको छ। यसले भविष्यमा थप जटिल समस्या ल्याउन सक्छ।”
कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकाहरुमा, कोरोनाका कारण आफन्त, साथीभाइ गुमाएकाहरुमा र दीर्घरोगीमा मानसिक स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ। “कोरोनाबाट बितेका आफन्त, साथीहरुलाई नजिकबाट हेर्न नपाउनु, दुःखमा परेको बेला नजिकका आफन्त र परिवारसँग भेट्न नपाउनु जस्ता कारणले मानसिक पीडा पर्न जान्छ। त्यो पीडा नसुल्झिंदा मानसिक समस्या देखिन्छ”, उनी भन्छन्।
दीर्घरोगीलाई कोरोना संक्रमण हुँदा गाह्रो हुन्छ अथवा बाँच्ने सम्भावना कम हुन्छ भन्ने सूचना अति धेरै फैलिएकाले उनीहरुमा मानसिक तनाव बढेको डा.ठगुन्ना बताउँछन्। त्यसैले घरमा भएका वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरुलाई परिवारका अन्य सदस्यले समय दिनुपर्ने उनको सुझाव छ।
कोरोनाभाइरस महामारीपछि खानेकुरा अनियन्त्रित खानेको संख्या बढेको ठगुन्ना बताउँछन्। संक्रमित भएर निको हुनेहरुमा यो समस्या छ। उनी भन्छन्, “अनियमित खानपान बढेको छ। उनीहरुलाई जति वेला पनि पेट खाली भए जस्तो अनुभव हुने र खाइरहनुपर्ने भएको सुनाउँछन्।”
मानसिक तनावबाट टाढा हुनको लागि दैनिक तालिका बनाएर शारीरिक व्यायाम गर्ने, ध्यान गर्ने, स्वस्थकर खाना खाने गर्नुपर्छ। वृद्धवृद्धा, बालबालिकासँग समय बिताउने, आफूलाई मनपर्ने कृयाकलाप गर्ने, नजिकका मान्छेसँग भावना साट्ने, एक्लै भए डायरी बनाउने, नकारात्मक कुराहरुबाट टाढा रहने जस्ता कुरामा ध्यान दिनुपर्ने मनोचिकित्सक तथा मनोविद् सुझाउँछन्।
उनीहरुका अनुसार अनावश्यक नसोच्ने, घरबाहिर निस्कँदा सुरक्षित निस्कने, फर्केर आएपछि कपडा फेरेर, हातमुख धोएर मात्रै बस्ने, घाममा र सकभर हावा खेल्ने स्थानमा बस्ने बानी गर्नुपर्छ। अप्ठ्यारोमा बाँच्नुपर्ने बाध्यता आइलागेकाले अवस्थाको सामना गर्न मनोबल उच्च बनाउनुपर्ने मनोचिकित्सक तथा मनोविद्हरुको जोड छ।