युरोपमा कोरोनभाइरसबाट दैनिक मृत्युदर फेरि बढ्यो
कोरोनाभाइरस महामारीको दोस्रो लहर बढ्दै जाँदा युरोपमा मृत्यु हुनेको संख्या पनि बढेको छ। फ्रान्स, स्पेन, बेलायत, इटाली, जर्मनी लगायत देशमा मृतकको संख्या बेढेको हो।
यी देश कोरोनाको पहिलो लहर चलिरहँदा गत अप्रिल र मार्चमा पनि धेरै प्रभावित भएका थिए। फ्रान्समा हिजो शुक्रबार ८२८ जनाको मृत्यु भयो। पछिल्लो हप्ता त्यहाँ करीब तीन हजार २०० को मृत्यु भइसकेको छ। इटालीमा पनि दैनिक मृत्यु हुनेको संख्या उकालो लागेको छ। त्यहाँ शुक्रबार ४४६ जनाको मृत्यु भयो। बिहीबार पनि ४२८ जनाको मृत्यु भएको थियो।
उता स्पेनमा शुक्रबार ३४७ र बिहीबार ३६८ जनाको मृत्यु भयो। बेलायतमा शुक्रबार ३५५ जनाको मृत्यु भयो। त्यहाँ पछिल्लो एक हप्तामा दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ। स्पेन र जर्मनमा दैनिक मृत्यु बढिरहेको छ। अन्य देशको तुलनामा जर्मनीमा भने मृत्युदर कम छ।
यी देशमा गएको अप्रिलमा दैनिक एक हजार आसपासमा संक्रमितहरुको मृत्यु भएको थियो। मे महीनाबाट मृत्युदर घट्दै गएको थियो। जुनदेखि अक्टोबर दोस्रो सातासम्म दैनिक मृत्युदर दोहोरो अंकमा सीमित थियो। जुनदेखि सेप्टेम्बरसम्म दैनिक ३० भन्दा कम संक्रमितको मात्र मृत्यु भएको थियो।
संक्रमण दर बढेसँगै युरोपका अधिकांश देशले बन्दाबन्दी लगाउनुका साथै कतिपयले स्वास्थ्य मापदण्डमा कडाइ गरेका छन्। पहिलो लहरमा संक्रमितको संख्या तुलनात्मक कम भेटिएका बेल्जियम र पोल्याण्डमा पनि दोस्रो लहरले बढी प्रभावित बनाएको छ। चेक गणतन्त्र र नेदरल्यान्ड्समा पनि संक्रमित बढिरहेका छन्।
अहिलेसम्म विश्वमा चार करोड ९६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। तीमध्ये १२ लाख ४८ हजार ५६५ जनाको मृत्यु भइसकेको छ। अझै एक करोड ३१ लख ५५ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
-एजेन्सीको सहयोगमा