आईपीएलमा बैङ्लोरविरुद्ध हैदराबादको जित, फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने
इन्डियन प्रिमियर लिग (आईपीएल) मा हिजो राति भएको 'एलिमिनेटर'मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्सस बैङ्लोरलाई ६ विकेटले पराजित गरेको छ।
बैङ्लोरले दिएको १३२ रनको लक्ष्य हैदराबादले १९.४ ओभरमा चार विकेटको क्षतिमा भेट्टाएको थियो। उसका लागि केन विलिएम्सनले अविजित ५० रन बनाए। बैङ्लोरका लागि मोहम्मद सिराजले दुई विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको बैङ्लोरले गतिलो प्रदर्शन गर्न सकेन। उसका लागि एबीडी भिल्लियर्सले ५६ रन र एरोन फिन्चले ३२ रन बनाए। ओपनिङमा आएका कप्तान विराट कोहोली मात्र ६ रनमा बाहिरिए। हैदराबादका लागि ज्यासन होल्डरले तीन विकेट लिए।
अब आइतबार हुने दोस्रो क्वालिफायरमा हैदराबादले दिल्ली क्यापिटल्सको सामना गर्नेछ। पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएपछि दिल्लीले दोस्रो क्वालिफायर खेल्न लागेको हो।