निर्णायक मानिएका राज्यमा अग्रता लिएपछि बाइडेन जित नजिक
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेन ‘स्विङ स्टेट’मा अग्रता हासिल गरेसँगै जित नजिक पुगेका छन्।
निर्णायक मानिएको राज्य पेन्सिल्भेनिया र जर्जियामा बाइडेनले अग्रता हासिल गरेपछि जित नजिक पुगेको बीबीसीले जनाएको छ। पेन्सिल्भेनियामा बाइडेन ट्रम्पभन्दा २० हजार मतले अगाडि छन्। त्यहाँ करीब ९७ प्रतिशत मत गनिसकिएको छ।
अहिलेसम्म बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१४ इलेक्टोरल मत छ। डेमोक्र्याटले सन् २०१६ को चुनावमा हारेका विस्कन्सिन, मिसिगन लगायत राज्यमा बाइडेनले जित हासिल गरिसकेका छन्।
त्यति वेला हारेका पेन्सिल्भेनिया, जर्जिया र एरिजोनामा पनि बाइडेन अगाडि छन्। त्यस्तै नेभादामा पनि बाइडेन अगाडि छन् भने नर्थ क्यारोलिनामा ट्रम्प अगाडि छन्।
स्वीङ् स्टेट मानिएको जर्जियामा ९९ प्रतिशत मत गणना हुँदा बाइडेनले झिनो अग्रता लिएका छन्। ०.५ भन्दा कमको अन्तर हुँदा पुनः मतगणना हुने अधिकारीहरुले बताएका छन्। त्यहाँ पुनः गणनाको संभावना रहेको बीबीसीले उल्लेख गरेको छ।
तर, पेन्सिल्भिनियामा जित हासिल गरे बाइडेन अमेरिकी राष्ट्रपति हुनेछन्। एरिजोना र नेभेदाको परिणाम उनको पक्षमा आए पनि उनको २७० इलेक्टोरल मत पुग्छ, जसले उनलाई ह्वाइट हाउसको ढोका खोल्नेछ।