मैत्रिपूर्ण खेल खेल्न बंगलादेश पुगेको नेपाली टोली ढाकामा व्यस्त
मैत्रिपूर्ण खेलका लागि बिहीबार बंगलादेश प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिन क्वारेन्टिन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ। बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेको थियो।
मैत्रिपूर्ण खेलका लागि यति बेला नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशको ढाकामा रहेको छ । एक साता क्वारेन्टाइन बसाई पछि टोलीले दुई मैत्रिपूर्ण खेल खेल्ने छ। बिहीबार नै ढाका पुगेको नेपाली टोलीले स्वास्थ मापदण्ड अनुसार क्वारेन्टाइन बसाईमा शुक्रबार सामान्य अभ्यास गरेको हो। यसअघि होटेलमा रहेको नेपाली टोलीको पीसीआर परीक्षण गरिएको थियो।
अहिलेसम्म नतिजा अझैं आएको छैन। पीसीआर परिक्षणको नतिजा आएपछि नेपाली टिमले मैदानमा स्वास्थ्य मापदण्ड पालना गरेर अभ्यास शुरु गर्ने तालिका रहेको छ। रिपोर्ट आउनुपूर्व टोलीले शुक्रबार क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको हो। होटलको छतलाई खेलाडीले सामान्य अभ्यास गर्ने स्थल बनाएका छन्। यस सँगै नेपाली खेलाडी मैदान उत्रिन कतिको आतुर छन भन्ने प्रस्टाएको छ।
पाँच दिनको होटेल आइसोलेसनपछि अभ्यासमा फर्किने भनिए पनि टोली तीन दिन पछि नै प्रशिक्षण गर्ने तालिका अगाडि सरेको छ। कोरोना भाईरसको महामारीबीच नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग २८ कात्तिक र २ मंसिरमा उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। मैत्रिपूर्ण खेलका लागि २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम बिहीबार ढाका प्रस्थान गरेको हो।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको छ। बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ। नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ। जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ। एक खेल भने नतिजाविहिन भएको छ। तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ।