एमाले–माओवादी मिलाउने यस्तो थियो ओली–दाहाल स्वार्थ, त्यसमै दरार
तत्कालीन एमाले र माओवादीबीचको एकताले पार्टी पंक्तिदेखि स्थिरताको आकांक्षा राख्ने आम नेपालीलाई उत्साहित पारे पनि त्यसको मुख्य आधार दुई पार्टीका अध्यक्षहरुको स्वार्थको जोडघटाउ थियो। अहिले नेकपामा देखापरेको संकट नियाल्दा त्यही देखिन्छ।
“म माथिको अविश्वास रहनुमा कुनै कारण रहेनछ। चित्त फाटेको, कमलो मन चित्त नबुझेको आदी कारण रहेछ। मैले मेरा मित्रको दुखेको, च्यातिएको मन, धेरै पटक सिउने कोशिस गरें। एकल र सामूहिक रुपमा कहिले साँझ कहिले अबेरसम्म, कहिले रात कहिले दिन, धेरै पटक मन तुन्ने काममा विताएको छु। तर, भयो के भने आज तुनेर पठाउँछु, भोलि बिहान अर्कोतिर फाटेको छ, फेरि तुनेर पठाउँछु, अर्कोतिर फाटेको छ। यसको अनुभव यसपछि सहकार्य गर्ने साथीहरुलाई पनि काम लाग्ला, होसियार रहनुहोला।”
पहिलो पटक प्रधानमन्त्री हुँदा आफै सहभागी सरकारविरुद्ध तत्कालीन नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याएपछि संसद बैठकमा सम्बोधन गर्दै त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादीका अध्यक्ष पुष्पमकमल दाहालप्रति लक्ष्यित गरेर यस्तो भनेका थिए।
माओवादीको सहयोगमा २४ असोज २०७२ मा पहिलो पटक प्रधानमन्त्री बनेका ओलीको ९ महीनाको सरकार माओवादीकै असहयोगले ढलेको थियो। र, त्यसपछि नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका थिए, १९ साउन २०७३ मा।
ओली र दाहाल नजिकिएपछि एकीकृत पार्टीका रुपमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली र दाहालबीचको खटपटकै कारण सम्भवतः अहिलेसम्मकै कठिन मोडमा आइपुगेको छ।
परिस्थिति र घटनाक्रमले उत्तर र दक्षिण फर्काएका ओली र दाहाल समयक्रममा फेरि एक ठाउँ आइपुगे। २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धन बनाएर पुनः नजिकिएका ओली र दाहाल ३ जेठ २०७५ मा औपचारिक रुपमै पार्टी एकीकरण गरेपछि एउटै पार्टीका संयुक्त अध्यक्ष बने। ओली र दाहाल नजिकिएपछि एकीकृत पार्टीका रुपमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली र दाहालबीचको खटपटकै कारण सम्भवतः अहिलेसम्मकै कठिन मोडमा आइपुगेको छ। शुक्रबारसम्म विकसित नेकपाभित्रको पछिल्लो संकटका घटनाक्रम हेर्ने हो भने पार्टी फुटतर्फ उन्मुख हुँदैगएको देखाउँछ भलै त्यो ओली र दाहालबीचको भागवण्डाबाट सिर्जित मतभिन्नता किन नहोस्। कतिपयले नेकपा अब फुटतर्फ उन्मुख भइसकेको बताइरहेका छन् भने कतिपयले चाहिँ यो दुई अध्यक्षको व्यक्तिगत महत्वाकांक्षा र इगोको समस्या मात्र भएकाले नेकपाको संकट फेरि पनि थान्को लागिहाल्ने टिप्पणी गरेका छन्। यसअघि यस्तै संकटमा पुगेको नेकपाभित्रको शक्ति संघर्ष भदौ अन्तिमसाता ओली र दाहालबीचको लेनदेनबाट साम्य बनेको थियो।
नेकपामा यो विवाद किन निम्तियो, यसको समाप्ति कस्तो र कसरी होला भन्नेबारे हरेकका आ–आफ्नै अड्कलबाजी चलिरहेका छन्। तर, यसबारे अझ राम्ररी बुझ्न केही पछाडि फर्कनु पर्ने हुन्छ।
ओली–दाहाल स्वार्थको त्यो गठबन्धन
चुनावी गठबन्धन हुनु अघि नै ओली र दाहाल एक अर्काका स्वभाव र कमीकमजोरीबारे राम्रोसँग जानकार थिए। विपरीत दुई ध्रुबमा फर्केका तत्कालीन एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष दाहालको मिलनले भने धेरैलाई आश्चर्य पारेको थियो। सत्ता सहकार्य टुटेपछि एक हिसाबले पानी बाराबारकै सम्बन्धमा पुगेका ओली र दाहाललाई आखिर के कुराले एउटै पार्टीमा समाहित गरायो ? वामपन्थी राजनीतिबारे लेख्दै आएका विश्लेषक मुमाराम खनाल कम्युनिष्टहरुले भन्नेगरेका ‘दलाल पूँजीपति बर्गले मिलनको आधार तयार’ गरिदिएको र त्यसमा ओली र दाहालको तीब्र महत्वाकांक्षाले काम गरेको बताउँछन्। “एकता हुँदा कुनै सैद्धान्तिक अधारमा छलफल भएन, एकताको मुल आधार विचार, दर्शन, संगठन केही थिएन”, खनाल भन्छन्, “एकताको मुख्य आधार भनेकै पार्टीका दुई जना नेता आलोपालो प्रधानमन्त्री बन्ने, एकैचोटी अध्यक्ष बन्ने थियो। त्योसँग जोडिएका दुवैका अरु थुप्रै स्वार्थ मिल्दा एमाले र माओवादी एक भएका थिए।”
पहिलो पटक प्रधानमन्त्री हुँदा भारतको नाकाबन्दीविरुद्ध लिएको अडान र त्यसअघि संविधान निर्माणमा खेलेको भूमिकाले ओलीसँगै एमालेको उचाइ बढेको थियो। त्यसकै परिणाम २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका १४ हजार १०० उम्मेदवारले जित हात पारे भने समग्रमा एमालेले ४०.३४ प्रतिशत मत प्राप्त गर्यो। तत्कालीन माओवादीले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मत १५.६३ प्रतिशत थियो। माओवादी भन्दा झण्डै तीन गुणा बढी मत ल्याउँदा पनि स्थानीय तह निर्वाचनमा माओवादी र कांग्रेसबीच भएको गठबन्धले एमालेसँगै अध्यक्ष ओलीलाई पनि झस्काएको थियो।
कांग्रेस र माओवादीबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि भएमा स्पष्ट बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री बन्ने आफ्नो आकांक्षामा धक्का लाग्ने ओलीले राम्ररी बुझेका थिए। दाहाललाई कांग्रेससँगको सहकार्यबाट अलग गर्दै आफूसँग ल्याए आफ्नो लक्ष्य सुनिश्चित हुने ओलीको आकलन थियो।
कांग्रेस र माओवादीबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि भएमा स्पष्ट बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री बन्ने आफ्नो आकांक्षामा धक्का लाग्ने ओलीले राम्ररी बुझेका थिए। दाहाललाई कांग्रेससँगको सहकार्यबाट अलग गर्दै आफूसँग ल्याए आफ्नो लक्ष्य सुनिश्चित हुने ओलीको आकलन थियो। ओलीका लागि यो किन पनि जरुरी थियो भने कांग्रेस–माओवादी गठबन्धन बनेको भए प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एमालेका लागि स्थानीय तह निर्वाचन जस्तो सहज हुँदैन्थ्यो। स्थानीय तह निर्वाचनमा स्थानीयस्तरमा भिजेका नेता–कार्यकर्ताका कारण धेरै ठाउँमा जित सुनिश्चित भए पनि प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतः पार्टी निर्णायक हुन्थ्यो।
यसमा लाभ दाहालले पनि देखेका थिए। दाहालको बुझाइ थियो– कांग्रेस भन्दा एमालेसँग मिल्दा बढी लाभ मिल्थ्यो। एक त वाम गठबन्धन भनेर प्रचार गर्न पाइने, अर्को एमालेसँगको वार्गेनिङमा धेरै भूमिका पाउन सकिने। त्यसक्रममा दुवै कुरा भए पनि। खनाल भन्छन्, “आधा कार्यकाल प्रधानमन्त्री बन्न पाइने लोभ, तीब्र क्षयीकरण भएको माओबादीलाई एमालेमा मिलाएर शक्तिशाली बन्ने आकांक्षा र माओवादी जस्तै सवैलाई किनारा लगाएर ठूलो पार्टीमा हालीमुहाली गर्न पाइने स्वार्थको आकलनले दहाललाई ओलीसँग नजिक्यायो।”
ओलीका विश्वासपात्र, नेकपा केन्द्रीय सदस्य गोकुल बास्कोटा पनि दुवै पार्टीको स्वार्थ मिल्दा पार्टी एकिकरण सम्भव भएको बताउँछन्। “माओवादी भद्रगोलमा फँसिसकेको थियो, वैचारिक तथा सांगठनिक रुपमा स्थापित हुन सक्ने र दक्षिणपन्थी धारमा जान सक्ने दुवै अवस्था नभएपछि उसलाई भरपर्दो र बलियो शक्तिसँग एकता गर्न जरुरी थियो,” बास्कोटा भन्छन्, “स्थानीय निर्वाचनमा प्रचण्डले घोर अवसरबादी नीति अवलम्बन गरेपछि त्यसले एमालेलाई झस्काएको थियो। आफ्नो बाटोमा अवरोध गर्ने तागत माओवादीसँग छ भन्ने एमालेले बुझेको थियो।”
कतिपयको भनाइ छ– शुरुदेखि नै माओवादीप्रति असहिष्णु देखिँदै आएका ओली एमालेसँग समाहित गराएर उसलाई छिन्नभिन्न पार्न चाहन्थे। त्यसका लागि सबभन्दा सहज विकल्प माओवादीलाई एमालेमा विलय गराउनु हुन्थ्यो। भन्नलाई दुई पार्टी एकीकरण भनिए पनि एमाले र माओवादीबीचको एकीकरण एक हिसाबले भन्दा माओवादीको एमालेमा विलय जस्तै थियो। यसलाई थप बल दिएर बास्कोटा भन्छन्, “संसारमा कहीँ नभएको गतिहीन माओवाद र दिशा नभएको प्रचण्डपथसँगै माओवादी समाप्त हुन जरुरी थियो,” बास्कोटा भन्छन्।
वाम राजनीतिबारे लेख्दै आएका खनाल पनि प्राविधिक रुपमा दुई पार्टी एकिकरण भनिए पनि पार्टी एकिकरण माओवादीको एमालेमा विलय नै थियो। यस हिसाबले हेर्दा ओली सफल भएका देखिन्छन्। बास्कोटा भने माओबादीको रुपान्तरण वाम आन्दोलनको सुदृढीकरण हुनसक्ने ओलीको बुझाईले काम गरेको बताउँछन्। संयोग मात्र पनि हुनसक्छ तर ओलीका पछिल्ला ‘मूभ’ले माओवादीबारेको त्यही बुझाइलाई बलियो देखाउँछन्। किनभने नेकपामा संकट चुलिएसँगै ओलीले त्यहाँभित्रका पूर्वएमालेलाई एकत्रित पार्ने अभियान शुरु गरेका छन् भलै त्यसले पूर्वएमालेको ठूलो पंक्तिलाई तरंगित पारेको छैन।
यसकारण समस्या
ओलीनिकट नेकपा नेता बास्कोटा ठूलो नदीमा मिसिएपछि सङ्लिनुको सट्टा दाहालले ठूलो नदीलाई नै आफ्नो धारमा बगाउन खोजेको, त्यही महत्वाकांक्षाले समस्या निम्तिएको दाबी गर्छन्।
एमाले र माओवादीको एकीकरणपछि दाहालका महत्वाकांक्षा पूरा नहुनु, उनको पूर्वानुमान असफल हुनुको परिणाम पनि हो, अहिलको ओली–दाहाल खटपट। पार्टी एकीकरण हुँदाको दाहालको रणनीतिलाई अथ्र्याउँदै ओलीनिकट नेकपाका एक नेता ओलीको कमजोर स्वास्थ्य हेरेका दाहाल त्यहीकारण आफूले चाँडै नेकपामा पनि माओवादीमा जस्तै एकछत्र राज गर्न पाउने आकलनमा रहेको बताउँछन्। “तर, समय सोचेजस्तो भएन, दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्री ओलीको सक्रियता झन बढ्यो, प्रत्यारोपणपछि ३० फागुन २०७६ मा अस्पतालबाट डिस्चार्ज हुनुभएका उहाँ एक हप्तामै सार्वजनिक कार्यक्रममा देखिन थाल्नुभो”, ती नेता भन्छन्, “नेकपामा खटपट शुरु भएकै गएको वैशाखदेखि हो, त्यस अघि आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वसहमति त्यागेर दाहालले नै ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने निर्णय सचिवालयबाट गराउनुभएको थियो।”
खनाल पनि एकीकरणपछि माओवादीमा जस्तै सबैलाई तह लगाएर आफू सर्वेसर्वा बन्ने पूर्वानुमान नमिल्दा दाहालमा बेचैनी बढेको र पछिल्लो संकटमा त्यसले नै प्रमुख भूमिका खेलेको बताउँछन्। “मोहन वैद्य र बाबुरामलाई गरे जस्तै एमालेलाई पनि काबुमा लिइहाल्छु भन्ने आकलन थियो होला, तर त्यसो गर्नु सम्भव थिएन। पार्टीमा जो शक्तिशाली हुन्छ, खेल्ने पनि उसैले हो”, उनी भन्छन्, “प्रचण्ड जस्तो कमजोर बनिसकेको नेतालाई आफ्नो शक्तिशाली पार्टीमा लगेर ओलीले उनकै हालीमुहाली चल्न दिने कुरा पनि थिएन।”
ओलीनिकट नेकपा नेता बास्कोटा ठूलो नदीमा मिसिएपछि सङ्लिनुको सट्टा दाहालले ठूलो नदीलाई नै आफ्नो धारमा बगाउन खोजेको, त्यही महत्वाकांक्षाले समस्या निम्तिएको दाबी गर्छन्। “दुई चार सय किलोमिटर बगेपछि ठूलो र सानो नदीको रंग एउटै हुनुपथ्र्यो, तर प्रचण्डको प्रयास नदीलाई आफ्नै रंगमा बदल्न खोज्ने भयो,” बास्कोटा भन्छन्, “प्रचण्डले संक्रमणकालमा महाधिवेशनतर्फ जान भूमिका खेल्नुपथ्र्यो, कब्जा गर्ने भ्रम राखेर छक्कापञ्जा गर्दा ताल विग्रियो।”
ओली रणनीतिसामु कमजोर दाहाल
कुनै समय दाहालसँग एउटै कमिटीमा रहेर काम गरेका मुमाराम खनाल भने दाहाल व्यक्ति–व्यक्तिबीचको अन्तरविरोधमा खेल्न माहिर भए पनि उनमा यस्तो रणनीति बनाउने क्षमता नै नभएको बताउँछन्।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीलाई नजिकबाट बुझ्नेहरु उनलाई रणनीतिका हिसाबले गिरिजाप्रसाद कोइरालापछिका चतुर नेता भन्ने गर्छन्। पहिलो पटक सरकारबाट बाहिरिएपछि बनाएको रणनीतिअनुसार नै ओलीले माओबादीसँग चुनावी गठबन्धन हुँदै पार्टी एकिकरण गरेको कतिपयको भनाई छ। प्रधानमन्त्रीबाट बाहिरिएपछि स्वास्थ्य जाँच र ‘रिफ्रेसमेन्ट’का लागि २०७३ भदौ दोस्रो साता थाइल्याण्ड पुगेका ओलीले त्यसबेला आफ्नो सचिवालयका सदस्यसहित निकटस्थहरुलाई सुनाएका थिए– ‘हेर्दै जाउँ, कसरी खेल्ने हो मलाई थाहा छ, परिणाम राम्रै आउँछ≥’ त्यसबेला सम्भावित योजना नबताएका ओलीले त्यसको १३ महीनापछि परिणाम आउनेगरी कदम चालेका थिए, वामगठबन्धनका रुपमा।
कुनै समय दाहालसँग एउटै कमिटीमा रहेर काम गरेका मुमाराम खनाल भने दाहाल व्यक्ति–व्यक्तिबीचको अन्तरविरोधमा खेल्न माहिर भए पनि उनमा यस्तो रणनीति बनाउने क्षमता नै नभएको बताउँछन्। “प्रचण्ड रणनीति बनाउन सक्ने मान्छे होइनन्, तत्काल शक्तिशाली बन्न जोसंग पनि मिल्न र कुराकानी गर्न सक्ने लचकता मात्र उनीसँग छ”, उनी भन्छन्, “ओली रणनीतिकार हुन्, उनी आफ्नो ठाउँमा टसमस छैनन्। माओवादीसंगको एकताको प्रयोजन ओलीका लागि सकिइसक्यो, पार्टी विभाजन गरेर पूर्वमाओबादी जान्छन् भनेपनि उनलाई समस्या हुँदैन।”
हुन त नेकपामा अहिले ओली एकातिर छन् भने दाहालसँग माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरु नजिक छन्।
ओलीसंग असन्तुष्ट पूर्वएमालेको ठूलो पंक्ति आफूतिर ल्याएर पूर्वएमालेमा खेल्न सकेकाले पनि ओलीसँग बार्गेनिङ्ग पावर बढाउन सकिने सोचमा दाहाल देखिन्छन्। तर, पूर्वएमालेमा खेलेर शक्तिशाली बन्ने योजना उनका लागि थप प्रतिउत्पादक बन्नसक्छ। कथं पार्टीमा फुट आयो भने पूर्वएमाले पंक्ति दाहालसँग जाने सम्भावना धेरै कम छ, बरु पूर्वमाओबादी पंक्ति दाहालको नेतृत्वबाट फुत्किन सक्छ। बास्कोटाको तर्क छ, “पार्टी फुटेमा आफू अध्यक्ष हुनेगरी प्रचण्डले फुटाउने हो । अब माधव नेपाल प्रचण्डलाई अध्यक्ष मानेर किन जानुहोला र, ओलीले दिन्छु भन्नुभएकै छ।” खनाल पनि लामो इतिहास भएको एमाले पंक्तिले दाहाललाई नेता मानेर जान सक्ने अवस्था अझै नरहेको बताउँछन्।