तीन दिने औपचारिक भ्रमण सम्पन्न गरेर फर्किए भारतीय स्थल सेनाध्यक्ष नरवाणे [तस्वीरहरू]
नेपालको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरेर भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे आज भारत फर्किएका छन्। उनलाई बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन्।
भारत फर्किनुअघि आज बिहान उनले नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थिहरूलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगि अनुभवहरूका बारेमा बताएका थिए। स्वदेश प्रस्थान गर्नुपूर्व, भारतीय स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल नरवणेले प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग शिष्टाचार भेटघाट गरेका थिए।
यसअघि बिहीबार उनले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए।
त्यसपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा रात्रीभोज आयोजना गरेका थिए। रक्षा सचिव, परराष्ट्र सचिव तथा भूतपूर्व प्रधान सेनापतिहरूको उपस्थिति रहेको उक्त रात्रीभोजमा दुवै प्रधान सेनापतिहरूले दुई सेनाबीचको परम्परागत सम्बन्धको चर्चा गर्दै उक्त सम्बन्ध सुदृढ गर्नमा यो भ्रमण फलदायी भएको उल्लेख गरेका थिए।
साथै बिहीबार जङ्गी अड्डामा भएको औपचारिक भेटवार्तामा दुई प्रधान सेनापतिबीच आपसी सुरक्षा चासोका विषयहरूमा खुला छलफल भएको थियो।
भेटवार्ताकै क्रममा दुई सेनाबीच उच्चस्तरीय भ्रमण र तालिमहरूलगायत अन्य सहयोगका क्षेत्रमा थप विस्तार गर्ने विषयमासमेत छलफल भएको थियो।
यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जंगि अड्डाले जनाएको छ।