सभासम्मेलन र हाटबजारजस्ता भीडभाडमाथि रौतहटमा पुनः रोक
जिल्ला प्रशासन कार्यालय रौतहटले सभा जुलुस, प्रदर्शन, हाटबजार, जात्रा, महोत्सव, भोजभतेरजस्ता गतिविधिमाथि २१ मङ्सिरसम्म रोक लगाएको छ।
जिल्लामा कोभिड–१९ को संक्रमणको जोखिम उच्च रहेको अवस्थामा संक्रमण न्यूनीकरण गर्न २१ कात्तिक राति १२ बजेदेखि लागू हुने गरी १७ मंसिरसम्म सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भीडभाड हुने कार्यक्रमको आयोजना, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, मापदन्ड र प्रोटोकल विपरीतका कार्यलाई समेत निषेध गरिएको छ।
यसै गरी सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्युटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, प्रदर्शनी, पुस्तकालय, संग्रहालय सञ्चालनमा पनि रोक लगाइएको छ। बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, निर्माण आदि कार्य गर्न र श्रमिक÷कामदार ओसारपसार तथा प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ।
जिल्लाको विभिन्न पालिकाको शैक्षिक गतिविधि सञ्चालन भइसकेको अवस्थामा विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ तथा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ विपरीत कार्य गर्न पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको हो।
आगामी ९ मंसिरदेखि कक्षा १२ को परीक्षा हुने भएकोले सो परीक्षा अगावै कक्षा ११ को परीक्षा आन्तरिक रुपमा विद्यालयहरुले लिनुपर्ने प्रावधान अनुसार जिल्लाका कतिपय विद्यालयले कक्षा ११ को परीक्षा संचालन गरिरहेका छन्।
चाडपर्व लगायत धार्मिक सांस्कृतिक तथा सामाजिक कार्यका लागि हुने जमघटहरुमाथि पनि रोक लगाइएको छ। यसै गरी मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजा, आराधनाबाहेकका गतिविधिहरु पनि सञ्चालनमा जिल्ला प्रशासन कार्यालय रौतहटले रोक लगाएको छ।
जिल्लामा हालसम्म कोभिड – १९ को कारण १४ जनाको मृत्यु भइसकेको छ । जिल्लामा १७४ जना सक्रिय संक्रमित रहेका छन्।
सर्वसाधारणको सचेतना तथा सुरक्षाको लागि यस प्रकारको निषेधाज्ञा जारी गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन्।