कम्मर र घुडामा लुकाएर ल्याएको सुन र नगदसहित एक जना भारतीय पक्राउ
भारत बिहार अररिया जिल्लाको जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेका एक भारतीय नागरिक नगद र सुनसहित पक्राउ परेका छन्। प्रहरीले रु २४ लाख ५० हजार बराबरको सुन र ६ लाख ६२ हजार ६ सय नेपाली रुपैंयासहित जोगवनी नगरपञ्चायत १३ का दिपककुमार भगत (२५) लाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
सीमावर्ति इस्लामपुर नाकाबाट नेपाल छिरेका उनको तलासी लिँदा सुन र नगद फेला परेको प्रहरीले जनाएको छ। बोर्डर आउट पोष्ट रानीका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलका अनुसार, २० कात्तिक अपरान्ह शंकास्पद देखिएका भगतलाई नियन्त्रणमा लिएर तलासी लिइएको थियो।
कम्मरमा पटुका जस्तो बनाएर बेरिएको कपडाभित्र ३७ वटा लकेट, ४ थान ब्रासलेट, १० थान झुम्का र २ चुरा गरी २८९ ग्राम सुन फेला परेको पोखरेलले बताए। सशस्त्रले २१ कात्तिकमा सुनचांदी ब्यवसायी संघबाट पहेंलो धातु सुननै भएको प्रमाणित गरेको छ। भगतले खुट्टाको घुडामुनीको भाग र कम्मरमुनी भित्री कपडामा नोट लुकाएका थिए।
जोगवनीबाट विराटनगर पुर्याउनका लागि सुन र पैसा लिएर आएको भगतले सशस्त्र प्रहरीलाई बताएका छन्। उनले कसलाई दिन सुन र रकम लिएर आएको भन्ने बताएका छैनन्। नेपाल भारत सीमावर्ति क्षेत्रमा हुण्डिको कारोबार गर्नेहरूको भरिया बनेर भगत नेपालतर्फ आएको हुनसक्ने सशस्त्रको आशंका छ।
भारतीय बजार जोगवनीमा नेपालबाट किनमेलका लागि जाने उपभोक्ताले दिने गरेको नेपाली नोट लिएर भारतीयरू भारु साट्नपनि नेपाल आउंने गरेका छन्। नेपाल, भारत सीमा बन्द रहेका बेला पनि नेपाली उपभोक्ता चोर बाटो हुंदै भारतको जोगवनीमा किनमेलका लागि जाने गरेका छन्।