प्रधानमन्त्रीले नरवणेलाई भने- ‘दुई देशबीचका समस्या संवादमार्फत् समाधान हुनुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचमा रहेका समस्या संवादमार्फत् समाधान गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँगको कुराकानीमा ओलीले आपसी सम्वादमार्फत् समस्याको हल खोज्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईका अनुसार भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको उल्लेख गरेका थिए। उनले दुई देशका सेना प्रमुखहरूलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको स्मरण गरे।
प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास व्यक्त गरेको सल्लाहकार भट्टराईले बताए।
तीन दिने नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए।
भारतीय सेनाध्यक्ष नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए। उनलाई बिहीबार नै नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो।
बिहीबार जंगी अड्डा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका नरवणेले शुक्रबार प्रधानमन्त्रीलाई भेट्नुअघि सगरमाथा क्षेत्रमा माउन्टेल फ्लाइट गरेर फर्केका थिए।