कुचोमा पनि कोरोना कहर: कामदार पाइँदैनन्, व्यापार पनि छैन [तस्वीरहरू]
यसअघिका वर्षमा यतिवेला तीन गाडी कुचो बिक्री गरिसक्थ्यो राजधानीको सुकेधारास्थित ढलाने पुल नजिकै रहेको गोरखनाथ कुचो सप्लायर्सले। तर यसवर्ष एक गाडी कुचो पनि बजारमा पठाउन सकेको छैन।
तिहार नजिकिएसँगै यसअघि डोको, डालो र कुचोको पुजा गर्नका लागि यो समयमा कुचो खपत अरू समयभन्दा धेरै हुने बताउँछन् सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखे। तर यो वर्ष कोरोनाका कारण तुलनात्मक रूपमा धेरै नै कम व्यापार भएको उनको अनुमान छ।
दश वर्षअघि बलाखेले काभ्रेमा नै स्थानीय रूपमा उत्पदान गरेर बिक्री गर्थे। त्यसपछि उनले उद्योगलाई काठमाडौं केन्द्रित गरेर उत्पादन गर्न थाले, त्यसले उनको व्यापार पनि बढ्यो। त्यसपछि गएको पाँच वर्षअघि उनले आफ्नो उद्योगलाई काठमाडौमा नै सारे। उनले त्यसका लागि पहिले स्थानीय कच्चा पदार्थको पदार्थको मात्रै प्रयोग गर्थे भने त्यसपछि राजधानी आसपासका जिल्लासँगै पूर्वमा इलामदेखि धरान र धनकुटाबाट समेत सप्लाई गर्न थाले।
त्यसपछि बलाखेले उत्पादन गरेको कुचो काठमाडौं मात्रै होइन चीन र भारतमा समेत सप्लाई हुन थाल्यो। व्यपार पनि विस्तारै बढ्न थालेपछि विगत तीन वर्षदेखि उनले आफ्नो व्यापारको जिम्मा छोरालाई सुम्पिए। अहिले यो उद्योगको सम्पूर्ण जिम्मेवारी बलाखेका छोरा १९ वर्षीय सुवाषले धानीरहेका छन्।
पछिल्लो समय दैनिक ३५०० देखि ४००० हजार कुचो उत्पादन गर्दै आएको गोरखनाथ कुचो सप्लायर्सको उत्पादन पनि ह्वात्तै घटैको छ। अहिले दैनिक १५०० देखि २००० सम्म मुस्किलले उत्पादन गर्ने गरेको सुवाष बलाखेको भनाइ छ।
उनका अनुसार यतिवेला कोरोना महामारीका कारण उत्पान्न परिस्थितिले एकातिर कामदार पाउन गाह्रो भएको छ भने अर्कोतिर आवश्यक कच्च पदार्थ ल्याउन पनि सकिएको छैन।