‘प्रेस स्वतन्त्रता सेनानी’ पत्रकार सीताराम बर्माको निधन
नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार सीताराम बर्माको निधन भएको छ। ७९ वर्षीय बर्माको स्वास्थ्य अवस्था खराब भएपछि तीन हप्तादेखि ललितपुरस्थित् किष्ट अस्पतालमा उपचार भइरहेको र सोही क्रममा शुक्रबार बिहान निधन भएको पत्रकार महासंघले जनाएको छ।
उनी पछिल्लो पटक कोरोनामुक्त भए पनि अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको हो। बर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्यसअघि आर्यघाटमा महासंघका तर्फबाट सचिव रामप्रसाद दाहालले महासंघको झण्डा ओढाएर मृतक बर्माप्रति श्रद्धाञ्जली दिएका थिए।
तीन दशकदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत रही पत्रकारितामा सक्रिय बर्मालाई नेपाल पत्रकार महासंघले २०७१ सालमा ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरेको थियो भने २०७६ सालमा प्रेस काउन्सिल नेपालले ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको थियो।
उनको निधनमा महासंघले शोक वक्तव्य निकाल्दै दुःख व्यक्त गरेको छ। महासंघको वक्तव्यमा भनिएको छ, ‘बर्माको निधनले पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भिक पत्रकार गुमाएको छ भने महासंघ धादिङ शाखाले अभिभावक गुमाएको छ।’