विश्वविद्यालयको मुहार फेर्दै डम्बर सर
त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङले थालेको संस्थागत र शैक्षिक सुधारको कामले विश्वविद्यालयकै मुहार बदलिंदैछ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको विम्ब झैं बनेको छ, घडीघर। जुन भवनमा मानवशास्त्र केन्द्रीय विभाग पनि छ। दुई वर्षअघिसम्म घडीघर परिसर गौचरन सरह थियो। गाईहरू चर्ने मात्र होइन, कक्षाकोठामै पस्ने र फोहोर गर्ने गर्थे।
यसबारे तस्वीरसहित समाचारहरू सार्वजनिक भए। त्रिविको त्यो बेहाल देखेपछि संस्थाको व्यवस्थापकीय क्षमतामाथि चौतर्फी प्रश्न उठे।
यसपछि पनि अवस्था सुध्रेन। त्यस क्षेत्रमा गाई देखिने क्रम जारी नै रह्यो, बन्सो, कुरो, सुँगुरे काँडा बढ्दै गएर झाडी भयो।
पछिल्लो समय भने घडीघर परिसरको स्वरूप फेरिएर ढकमक्क फूल फूलेको सुन्दर बगैंचामा परिणत भएको छ। यो परिवर्तन मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङको मिहिनेतको रङ हो।
त्रिविमा तीन दशकभन्दा बढी अवधिसम्म मानवशास्त्र र समाजशास्त्र एउटै विभागका रूपमा थिए। २०७२ सालमा मानवशास्त्रलाई छुट्टै विभाग बनाइयो। त्यसपछि भौतिक संरचना र अन्य व्यवस्थापन नयाँ ढंगले मिलाउनुपर्ने भयो।
त्यसै क्रममा विभागीय प्रमुखका रूपमा डम्बर चेम्जोङ नियुक्त भए। त्यसयता विभागको संस्थागत तथा प्राज्ञिक विकासको थालनी गरेका उनले विश्वविद्यालयलाई नयाँ रुप–रङ दिएका छन्।
शिक्षाको ‘सिंहदरबार’ मा साजसज्जा
चेम्जोङको अग्रसरतामा मानवशास्त्र विभाग रहेको भवन परिसरको स्वरूप मात्र फेरिएको छैन, विभागको भौतिक संरचना सुधार र प्राज्ञिक आकर्षण वृद्धि समेत भएको छ।
शुरूमा बगैंचाकै कुरा गरौं।
विभाग प्रमुख चेम्जोङ गत वर्षको माघदेखि विभागको अगाडि बगैंचा बनाएर स्याहारमा जुटिरहेका छन्। यो काममा मानवशास्त्र विभागकै कार्यालय सहयोगीहरु आफ्नो दाहिने हात बनेर खटिएको उनी बताउँछन्।
बगैंचामा ढकमक्क फूल देखिए पनि खासमा विभिन्न प्रजातिका फल र वनस्पति रोप्न प्राथमिकता दिइएको रहेछ। गत जून महीनाको पहिलो साता विश्व वातावरण दिवसको अवसरमा फलफूलका विरुवा रोप्न शुरु गरिएको हो। जून महीनाभरिमा विभिन्न प्रजातिका फलफूल र वनस्पतिका करीब ७० विरुवा रोपिए। जसमा अम्बा, सुन्तला, जुनार, जामुन, नास्पाती, आरु, एभोकाडो, ओखर, जैतुन, चेरी, बुद्धचित्त, लगायत छन्। विरुवाको वरिपरि इँटाको घेरो लगाइएको छ।
चेम्जोङ भन्छन्, “फलका विरुवाहरू सानै छन्। विरूवा वरिपरि राखिएको इँटाको घेरोभित्र खाली जस्तो देखिएपछि सयपत्री, गोदावरी रोपेका थियौं, त्यही अहिले ढकमक्क भएको हो।”
खाली जमीनमा पलाएको कुरो, सिरू आदि निर्मूल पार्न तिनलाई जरैसहित हटाएर स्थानीय दुबो रोपिंदैछ। सबैतिर दुबो रोपिसक्न अझै एक वर्षसम्म लाग्न सक्ने उनी बताउँछन्। परिश्रम गरे अनुसारको सुहाउँदिलो कल्पना पनि सुनाउँछन्, “२–३ वर्षभित्रमा घडीघर अगाडिको जमीन दूबोमय हरियो चउर बन्नेछ। त्यसमा विभिन्न जातका फल लटरम्मै फल्नेछन्, र सिजन अनुसारका फूल फुल्नेछन्।”
सिंहदरबारभित्र पस्दा जसरी सफा र फूलैफूलले सुन्दर देखिन्छ, विश्वविद्यालय पनि त्यस्तै हुनुपर्ने चेम्जोङको मान्यता छ।
“यो विश्वविद्यालय केन्द्रीय क्याम्पस भएकाले मुलुकको शिक्षाको सिंहदरबार नै त हो”, उनी भन्छन्, “त्यसैले यहाँ पढ्न आउने विद्यार्थी, पढाउने शिक्षक र काम गर्ने कर्मचारी सबैलाई उत्साह र ऊर्जा दिने भौतिक तथा प्राज्ञिक वातावरण बनाउनुपर्छ।”
यी काम आवधिक योजना बनाएर गर्नेभन्दा विभागमा उपलब्ध सीमित स्रोतकै उपयोगबाट गरिरहेको चेम्जोङ बताउँछन्। उनका अनुसार, आफ्नो विभाग आफैं बनाऔं भन्ने नीति अँगालेर मानवशास्त्र विभाग अगाडि बढिरहेको छ। “क्षमता हुनेले आफैं गर्ने हो, अर्काको मुख ताक्ने र माथिको आदेश पर्खने प्रवृत्तिले आफ्नो संस्थाको स्तरोन्नति गर्न सकिंदैन”, उनी भन्छन्।
विभागले बगैंचा निर्माण गर्नुको पृष्ठभूमिमा त्रिविका उपकुलपतिको चाहना पनि जोडिएको रहेछ। प्रा.डा. धर्मकान्त बास्कोटा त्रिविका उपकुलपति नियुक्त हँदा त्रिविलाई सौन्दर्यीकरण गर्ने इच्छा व्यक्त गरेको र त्यसैलाई साकार पार्न मानवशास्त्र विभागले बगैंचा निर्माण गरेको चेम्जोङ बताउँछन्। “यसैले यो बगैंचा मानवशास्त्र विभागको तर्फबाट त्रिविलाई सुन्दर उपहार हो”, उनी भन्छन्।
विश्वविद्यालयको भौतिक र प्राज्ञिक विकासमा लाग्नुलाई चेम्जोङ आफ्नो जिम्मेवारी मान्छन्। यस काममा विभागका सहकर्मी शिक्षक र कर्मचारीको भरथेग र सहयोग पाइरहेको उनी बताउँछन्।
“देशकै जेठो र ठूलो विश्वविद्यालयको प्राज्ञिक क्षेत्रको भौतिक सुधारको जिम्मा स्वयं विश्वविद्यालय र मातहतका विभागको हो, मैले त्यही भूमिका निर्वाह गरेको मात्र हो”, उनी भन्छन्।
एउटा मान्छेले पारेको फरक
घडीघरको दोस्रो तलाका चार वटा कोठा मानवशास्त्र विभागले उपयोग गरिरहेको छ। जसमध्ये दुई वटा कक्षाकोठा छन् भने एउटा ठूलो कोठामा पुस्तकालय छ।
संस्थागत सुधारका क्रममा मसिना–मसिना कुरामा पनि ध्यान दिइएको छ।
भवनमा परेवा, भँगेरा लगायतका चराचुरुंगी बसेर फोहोर पार्थे। पछिल्लो समय वरपरका रुखहरूमा चरा बस्ने ससाना घर बनाइयो। विभाग प्रमुखमा चेम्जोङको आगमनसँगै भौतिक पूर्वाधारले नयाँ लुगा पाए, अर्थात् कोठाहरूमा रङरोगन गरिएको छ, सिलिङ लगाइएको छ र भुइँ पार्केटिङ गरेर टिलिक्क बनाइएको छ। झ्यालमा नयाँ र सफा पर्दा छन्। कक्षाकोठामा इन्टरनेट सुविधा पु¥याइएको छ।
विभागको पुस्तकालय व्यवस्थापनको काम पनि धमाधम भइरहेको छ। चेम्जोङ विभागीय प्रमुख भएर आउनु अघि विभागको पुस्तकालयमा करीब पाँच हजार थेसिस थिए, भुइँमा विभागको आफ्नै अनुसन्धानमा आधारित पुस्तक र प्रतिवेदनहरुको डंगुर थुपारिएको अवस्थामा थियो। पुस्तकालयमा बसेर पढ्ने व्यवस्था थिएन।
अहिले थेसिसलाई छुट्टै कोठामा व्यवस्थित गरेर राखिएको छ। पुस्तकालयमा पुस्तकहरु वर्गीकरण गरी क्याटलग बनाएर राख्ने काम भइरहेको छ। ई–लाइब्रेरी बनेपछि पुस्तकहरूका सूची अनलाइन मार्फत हेर्न सकिनेछ। यसका लागि पुस्तकालय विज्ञानमा स्नातकोत्तर गरेका तीन जनाले काम गरिरहेका छन्। यस्तै, मानवशास्त्र विभाग नेपाल लाइब्रेरी एन्ड इन्फर्मेशन कन्सर्टियम (नेलिक) सँग सम्बद्ध भएसँगै पुस्तकालयमा बसेर अनलाइनबाट अन्तर्राष्ट्रिय जर्नलहरु समेत पढ्न सकिने भएको छ।
अमेरिकाको कोर्नेल विश्वविद्यालयले हालसालै विभागलाई मानवशास्त्र तथा समाज विज्ञान विषयका ११०० थान पुस्तक उपहार दिएको छ। चेम्जोङका अनुसार, अमेरिकाको कोर्नेल विश्वविद्यालयले सन् १९९४ देखि सञ्चालन गरेको कोर्नेल नेपाल अध्ययन कार्यक्रम सन् २०१५ (२०७२ साल) को भूकम्पपछि बन्द भएकाले उक्त कार्यक्रमको पुस्तकालयका पुस्तक विभागले पाएको हो।
विभागले मानवशास्त्र अध्ययनबारे प्रचारप्रसार पनि बढायो। जसका कारण विद्यार्थी भर्ना संख्या बढेको चेम्जोङ बताउँछन्। “म नियुक्ति हुनुभन्दा अघिल्लो ब्याचमा मानवशास्त्र स्नातकोत्तर तहमा ९ जना र त्यो भन्दा पनि अगाडि १७ जना विद्यार्थी थिए। म आएपछिको वर्ष २६ जना भर्ना भए”, उनी भन्छन्।
उनका अनुसार, एम फिलमा पनि उनी नियुक्त हुनुअघिको ५/६ ब्याच १२ देखि १५ जना विद्यार्थी भर्ना हुने गरेकोमा उनी आएपछि २७ जना भर्ना भए। विद्यार्थीको संख्या अझै बढाउन मिहिनेत गरिरहेको उनी बताउँछन्।
घडीघरका भौतिक संरचनाको बिजोग शौचालयहरूमा झनै अचाक्ली थियो। त्यहाँका सम्पूर्ण शौचालय दुर्गन्धित र जाम भएर पसिनसक्नु अवस्थामा थिए। प्रयोगविहीन बनेपछि पहिलो तलाका शौचालय त ताल्चा बन्द गरेर राखिएका थिए। बन्दाबन्दीको बेला विश्वविद्यालयमा कक्षा नभएको मौका पारेर घडीघरका पहिलो, दोस्रो र तेस्रो तलाका सबै शौचालयलाई मर्मत सम्भार गरी सफा र सधैं पानी उपलब्ध हुने व्यवस्था गरिएको छ।
घडीघरकै तेस्रो तलामा करीब सय जना अट्ने व्यवस्थित सेमिनार हल भर्खरै पुनःनिर्माण गरिएको छ। पुनःनिर्माणको खर्च त्रिवि उच्च शिक्षा परियोजना, समाजशास्त्र केन्द्रीय विभाग र मानवशास्त्र केन्द्रीय विभागले संयुक्त रूपमा व्यहोरेको चेम्जोङले बताए। “यति भएपछि हामीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय सभा तथा सेमिनार गर्न बाहिर होटल तथा पार्टी भेन्यूहरु खोज्नुपर्दैन”, उनले भने।
खर्चको जोहो
भौतिक र शैक्षिक सुधारमा लागिरहेको मानवशास्त्र केन्द्रीय विभागले यसका लागि आर्थिक जोहो कसरी गरिरहेको छ त भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो।
विभागीय प्रमुख चेम्जोङ मानवशास्त्र शिक्षणसँगै अनुसन्धानलाई पनि सँगै अगाडि बढाउने विज्ञान भएको सन्दर्भ जोड्दै विभिन्न संघसंस्थासँग मिलेर अनुसन्धानका काम गरी बजेट जुटाइरहेको बताउँछन्।
उनका अनुसार, मानवशास्त्र विभागले विभिन्न सरकारी–गैरसरकारी संघसंस्थासँग अनुसन्धानमूलक कामहरु गरिरहेको छ। “त्रिवि आर्थिक रुपमा कमजोर भएकाले शिक्षक तथा कर्मचारीका लागि नियमित तलब बाहेक थप बजेट हुँदैन”, उनी भन्छन्, “विश्वविद्यालयको आर्थिक सीमाका कारण मानवशास्त्र जस्ता अनुसन्धानमा क्षमता र अनुभव भएका विभागले आफैं विभिन्न निकायसँग अनुसन्धानका लागि थप बजेट जुटाएर विभाग र विषयको संस्थागत विकासमा लगानी गर्नुपर्ने हुन्छ।”
मानवशास्त्र विभागले अमेरिकी परियोजना यूएसएआईडीसँगको सहकार्यमा ‘सामाजिक समावेशी अनुसन्धान परियोजना’ कार्यक्रम सम्पन्न गरेको छ। उक्त अनुसन्धानमा आधारित चार वटा पुस्तक प्रकाशनको तयारीमा छन्। त्यस्तै, गोरखापत्र दैनिकको भाषा पृष्ठको मूल्यांकन गर्ने काम पनि सम्पन्न गरेको छ।
विभागले ओपन सोसाइटी फाउन्डेसनको सहयोगमा ‘समावेशी लोकतन्त्र तथा स्थानीय सुशासन’ परियोजना पनि संचालन गरिरहेको छ। स्थानीय सरकारहरुको अध्ययन गरिने यो परियोजनामा विभागका शिक्षकहरुलाई विद्वत् वृत्ति तथा विद्यार्थीलाई शोध अनुसन्धान गर्न छात्रवृत्ति समेत प्रदान गरिन्छ। विभागको पुस्तकालय यसै परियोजनाबाट अद्यावधिक भइरहेको हो। विभागले थारु आयोगका निम्ति ‘थारुका थरहरु सूचीकरण परियोजना’ पनि चलाइरहेको छ।
यी परियोजनाहरुबाट विभागको संस्थागत विकासका लागि थोरै भए पनि आर्थिक सहयोग भइरहेको चेम्जोङ बताउँछन्। साथै, यस्ता परियोजनाबाट विभागले विभिन्न प्रकाशन गर्न पनि सम्भव भइरहेको उनको भनाइ छ।
बगैंचा निर्माणदेखि कक्षाकोठा मिलाउनेसम्म सुधारका प्रयास गरेका उनले कामले काम थप्ने अनुभव गरेका छन्। बगैंचा निर्माण जोश–जाँगरले गरेको तर यसलाई रेखदेख गर्न र अझ सुन्दर बनाउने चुनौती थपिएको उनी बताउँछन्।
“विरुवा रोप्न सजिलो भए पनि रोपेको भोलिपल्टदेखि त्यसको माया लाग्छ। त्यसपछि मलजल गरेर हुर्काउन, फुलाउन, फुलाउन र संरक्षण गर्नमा पो जुनी बित्ने रहेछ त”, उनी हाँस्दै सुनाउँछन्।
चेम्जोङका अनुसार, नेपालमा नीतिगत तथा प्राज्ञिक अनुसन्धानको क्षेत्रमा मानवशास्त्र केन्द्रीय विभागले आफ्नो क्षमता र पहिचान स्थापित गरिसकेको छ। अब विभागको आफ्नै जर्नल प्रकाशनको काम छिटै थाल्ने उनको योजना छ।
विभागलाई नै आफ्नो घरसंसार बनाइरहेका उनको कुनै ठूलो सपना छैन। भन्छन्, “कार्यकाल पूरा गरेर जाँदा एउटा व्यवस्थित, सुन्दर र सफल विभाग बनाई विश्वविद्यालयलाई उपहार छोडेर जाउँला भन्ने चाहना छ।”
यो चाहनालाई उनको अहिलेको क्रियाशीलता र लगनले सफलतातिर लगिरहेको छ।