राणाशासनमा ‘हल्लने पुल’
राणाशासनको बेला पनि काठमाडौं खाल्डो बाहिर हल्लने अर्थात् झोलुंगे पुल बन्नुको प्रमुख कारण बिहेबारीको सम्बन्धसँग जोडिएको रहेछ।
उहिले खोला तथा नदीहरूमा अहिले जस्तो बाक्लै पुल थिएनन्। केही ठाउँमा ‘हल्लने पुल’ थिए। धेरै ठाउँमा पानी छिचोलेरै तर्नुपर्थ्यो, कि डुंगाको प्रयोग गर्नुपर्थ्यो। काठमाडौं खाल्डोमा पनि पाटनबाट कीर्तिपुर, चोभार जान वागमतीमा एउटा हल्लने पुल हालिएको थियो। त्यतिबेला यस्तो पुललाई झोलुङ्गे पुल भनिंदैनथ्यो। २००७ सालपछि मात्र झोलुङ्गे पुल भन्न लागिएको हो कि जस्तो लाग्छ।
मैले नेपालका त्यस्ता धेरै वटा हल्लने पुल तरेको छु। कीर्तिपुर जाने वागमती नदीको पुलबाट त कैयौं पल्ट आउजाउ गरें। किनभने, कीर्तिपुर सल्यानथानमा हाम्रा चार घर जजमान थिए र मेरो ससुराली पनि थियो।
धरानबाट धनकुटा जान अरुण नदीको मूलघाटमा पनि हल्लने पुल तर्नुपर्थ्यो। २०११ सालमा स्याङ्जा–पाल्पा जोड्ने राम्दीमा निर्मित हल्लने पुल पनि तरेको थिएँ। यस्तै, डोटी जिल्लाको दिपायलबाट सिलगढी जान सेती नदीमाथि पनि हल्लने पुल थियो। २०१४ वैशाख ताका राजा महेन्द्रको सुदूरपश्चिम भ्रमणको टोलीमा पत्रकारको हैसियतमा म पनि सहभागी थिएँ। त्यतिबेला सेती नदीको हल्लने पुल तरेको थिएँ।
२०१८ सालमा पूर्व ताप्लेजुङको सदरमुकाम फुङलिङ जान तमोर नदीको खडकौलो भन्ने ठाउँमा जोखिमपूर्ण अवस्थामा रहेको निकै थोत्रो हल्लने पुल पनि तरेको थिएँ। पुल तरिरहँदा कुन बेला खस्ला भन्ने डरले तीन पुस्ता सम्झेको थिएँ।
फुङलिङबाट चैनपुर, नुनढाकी जाँदा दोभानमा भने बलियो हल्लने पुल तरेको पनि सम्झना छ। त्यसपछि २०५० सालमा जाजरकोट जाँदा भेरी नदीमा जडान गरिएको झोलुंगे पुल पनि तरेको छु। त्रिशूली र बूढीगण्डकी मिसिएको भागमा हल्लने पुल पार गरेर उत्तरी गोर्खाको धुमी लार्के भञ्ज्याङ जाँदा ताघ्रिङमा झोलुङ्गे पुल तरी मनाङ पुगेको सम्झँदा रोमाञ्चित हुन्छु।
डा. हर्क गुरुङको गाउँको ङादी नदी (लमजुङ) र मर्स्याङ्दी नदी पनि हल्लने पुलबाट तरेको हुँ। जाजरकोटबाट रुकुमको मुसीकोट जाँदा ठूली भेरी नदी डुङ्गामा वारपार गरियो, सानी भेरी भने भने थोत्रो हल्लने पुलबाटै तरिएको थियो।
बिहेबारीका कारण बनेछन् पुल
राणाशासनमा बनेका प्रायः सबै हल्लने पुल तरेको सम्झँदा मन तरंगित हुन्छ। प्रश्न पनि उठ्छ, ती अनकन्टार ठाउँमा राणाशासनमै कसरी बने पुल ?
खासमा वैवाहिक सम्बन्धका कारण विभिन्न जिल्लामा हल्लने पुल बनेका रहेछन्। राणा र शाहहरूबीच बिहेबारी चल्ने। त्यतिबेला बझाङ, डोटी, अछाम, मुसीकोट, सल्यान, जाजरकोट, लमजुङ, भिरकोट जस्ता ठाउँका ठकुरीहरूका छोरीसँग पनि काठमाडौंका राणा र शाहहरूले बिहे गर्थे। आफ्ना छोरीहरू त्यताका ठकुरीका छोराहरूलाई दिन्थे। यसो हुँदा ती ठाउँमा राणा शासकहरूको ध्यान जाने नै भयो।
पुलका निम्ति आवश्यक सबै सामान तयार भएर आउँथे। त्यसबेला बेलायती कस्मिरा भनेपछि एउटै गुणस्तरको बलियो हुन्थ्यो। फलाम पनि खिया नलाग्ने र वर्षौं टिक्ने। पुलको सामान नेपाल ल्याएर जडान मात्र हुन्थ्यो।
काठमाडौंमा विष्णुमतीमा स्वयम्भू जान पनि हल्लने पुल बनाइएको थियो। कीर्तिपुर र स्वयम्भू जाने हल्लने पुल भने बिहेबारीका कारण बनेका होइनन्।
पुलका कथा
हाम्रो गाउँ भक्तपुरको दधिकोट र किनमेल गर्ने बजार थिमि थियो। बिहे, ब्रतबन्ध, सप्ताह, नवाह जस्ता ठूला कार्य गर्नुपरेमा चाहिं किनमेलका लागि पाटन बजार र काठमाडौं नै जाने गरिन्थ्यो।
दधिकोट र थिमिबीच हनुमन्ते खोला पर्थ्याे। तर, हनुमन्तेमा पुल थिएन। बर्खा खहरे समेत मिसिएर आउने हुँदा असारदेखि भदौसम्म खोला तर्न हम्मे पर्थ्यो।
थिमि निवासी बोडेकी एक जना छोरी श्री ३ पद्मशमशेर कहाँ केटी बसेकी रहिछन्। रहँदा बस्दा उनलाई पद्मशमशेरले भित्रिनी बनाएछन्। उनै भित्रिनीका माइती खलक दक्षिण बाराही–क्वाछे देव दर्शनका लागि आउजाउ गर्न हनुमन्ते खोलाले बाधा दियो भनी श्री ३ सँग बिन्ती पुग्यो। त्यसपछि मात्र २००४ सालतिर हनुमन्ते खोलामा पक्की पुल बनेको हो।
चन्द्रशमशेरकी रानी लोकभक्त लक्ष्मीदेवीको क्षयरोगले मृत्यु भएपछि उनले अर्को बिहे गर्ने निधो गरे। यो निर्णयको पाँच भाइ छोराले घोर विरोध गरे। तर, चन्द्रशमशेरले उनीहरूको विरोधको वास्ता नगरी जाजरकोटका ठकुरी हरिविक्रम शाहकी छोरी बालकुमारी देवीसँग बिहे गरे। भेरी नदीमा हल्लने पुल यसै कारण बन्यो।
बोडेकी छोरी पद्मशमशेरकी भित्रिनी नभएकी भए शायद हनुमन्तेमा पुल बन्दैनथ्यो। यस्तै, राणा खलक धनकुटा नलघारिएका भए मूलघाटको, जयपृथ्वीबहादुर सिंहलाई चन्द्रशमशेरले छोरी नदिएको भए सेती नदीमा हल्लने पुल बन्दैनथ्यो। बझाङको चैनपुर र थलारा जोड्ने सेती नदीमा हल्लने पुल पनि यस्तै बिहेकै प्रसंगमा बनेको हो।
चन्द्रशमशेरले दोस्रो बिहे गर्दा भेरीमा पुल
चन्द्रशमशेरकी रानी लोकभक्त लक्ष्मीदेवीको क्षयरोगले मृत्यु भएपछि उनले अर्को बिहे गर्ने निधो गरे। यो निर्णयको पाँच भाइ छोराले घोर विरोध गरे। तर, चन्द्रशमशेरले उनीहरूको विरोधको वास्ता नगरी जाजरकोटका ठकुरी हरिविक्रम शाहकी छोरी बालकुमारी देवीसँग बिहे गरे। भेरी नदीमा हल्लने पुल यसै कारण बन्यो।
कान्छी रानी बालकुमारीबाट विष्णुशमशेर, शंकरशमशेर, मदनशमशेर र अर्कीबाट बद्रीशमशेर समेत गरी चन्द्रशमशेरका नौ छोरा भए।
चन्द्रशमशेरका जेठी रानीतर्फका पाँच वटै छोराले सौतेनी आमा बालकुमारीलाई गोडामा नढोगी सलाम मात्र गर्दा रहेछन्। यसप्रति उनले विरोध गरिछन्। तब चन्द्रशमशेरले सौतेनी आमालाई गोडामा नढोगे डाँडो कटाइदिन्छु भनेपछि पाँच भाइले दिनदिनै बाबु–आमाको खुट्टामा नै ढोग्न थालेछन्।