भारतीय सेना प्रमुख नरवणेले गरे माउन्टेन फ्लाइट
नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख (स्थल सेनाध्यक्ष) मनोज मुकुन्द नरवणेले शुक्रबार बिहान माउन्टेन फ्लाइट गरेका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत् पर्वतीय उडान गरेका नरवणेले सगरमाथा क्षेत्रका उच्च हिमाली शृङ्खलाको दृश्यावलोकन गरेर फर्किएका छन्।
उनले नेपाली सेनाको भीभीआईपीका लागि प्रयोग गर्ने अगुष्टा हेलिकप्टरमार्फत् पर्वतीय उडान गरेका हुन्। नरवणे विश्वकै अग्लो स्थान (३८८० मिटर) मा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट गरी हिमालको दृष्य अवलोकन गरेर फर्किएको उल्लेख छ।
पर्वतीय उडान पर्यटकको चलहपलह नभएको र कोभिडको रोकथामका लागि ७ महीनादेखि बन्द गरिएको छ। सात महीनासम्म बन्द रहेको माउन्टेन फ्लाइट भारतीय सेवाप्रमुखले गरेका भएपनि उनी नियमित उडानबाट भने नगएका त्रिभुवन विमानस्थलले जानकारी दिएको छ।
विमानस्थल कार्यालयका अनुसार सेनाको हेलिकप्टरबाट गएकोले सबै व्यवस्थापन नेपाली सेनाले नै मिलाएको छ।