दाहालले धुम्बाराहीमा बोलाए नेकपाको सचिवालय बैठक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सचिवालय बैठक बोलाएका छन्। बैठक नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो ३ बजे बस्नेछ।
धुम्बाराही तत्कालीन एमालेको केन्द्रीय मुख्यालय हो। प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सचिवालयलगायत पार्टी कमिटीका बैठक बोलाउन सहमत नभएपछि दाहाल एक्लैले बैठक आह्वान गरेका हुन्। दाहालले बोलाएको बैठकमा ओली सहभागी नहुने लगभग पक्कापक्की नै रहेको स्रोतले बताएको छ।
तर, ओली पक्षका सचिवालय सदस्यहरू ईश्वर पोखरेल र विष्णु पौडेल तथा पछिल्लो समय कुनै समूहमा नखुलेका बामदेव गौतम र रामबहादुर पनि बैठक सहभागी हुने/नहुने निश्चित छैन।
“बैठकका लागि उहाँ (प्रधानमन्त्री ओली) ‘कन्भिन्स’ हुनु भएकै छैन। हिजोको भेटमा पनि सहमत हुनु भएन। आज अध्यक्षले कार्यकारी अधिकार प्रयोग गर्दै सचिवालय बैठक बोलाउनुभएको हो”, दाहालनिकट स्रोतले भन्यो।
त्यसअघि शुक्रबार बिहान दाहाललाई भेट्न खुमलटार पुगेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि दाहालले आफूले सचिवालय बैठक बोलाउने बताएका थिए। पार्टीमा देखिएको विवाद समाधानका लागि आग्रह गर्न नेम्वाङ दाहालनिवास खुमलटार पुगेका थिए।
दाहालले धुम्बाराहीमा सचिवालय गरेर आफू बालुवाटार आउने नेम्वाङमार्फत् जानकारी गराएका थिए।
बिहीबार ओलीलाई भेट्न बालुवाटार पुगेका दाहालले सचिवालय बैठक बोलाउन माग गरेपनि ओली सहमत भएका थिएनन्। पछिल्लो समय नेकपाभित्र विवाद तीब्र बनेको छ।
गएको आइतबार दाहालले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए। उनीहरू सचिवालय बैठक बोलाउने निश्कर्षमा पुगेका थिए।