कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण
नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको पीसीआर परीक्षणपछि उनीहरूमा संक्रमण देखिएको हो।
बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएको थियो। शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ जना केन्द्रीय सदस्यलाई संक्रमण पुष्टि भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बताए।
केन्द्रीय सदस्यहरू नसिर सिद्दिकी, किरण यादव, सुरेन्द्रराज पाण्डे, श्यामकुमार घिमिरे, कृष्ण किशोर घिमिरे र सुजाता परियारलाई कोरोना देखिएको हो। ६ जना केन्द्रीय सदस्यसँगै एकजना नेताका पीएसओ र एकजना चालकको पनि रिपोर्ट पोजिटिभ आएको जनाइएको छ।
कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुलाई पनि कोरोना संक्रमण देखिएको छ। यसअघि पनि कांग्रेसका केही केन्द्रीय सदस्यलाई कोरोना देखिएको थियो।
शुक्रबारदेखि शुरू हुने भनिएको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनेहरूको पीसीआर परीक्षण गरिएको थियो। यद्यपि, पदाधिकारी बैठक नसकिएकाले केन्द्रीय कार्यसमितिको बैठक २४ कात्तिकका लागि सरेको छ।
पदाधिकारी बैठक शुक्रबार पनि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ।