बाइडेनले उछिनेपछि ट्रम्पले फेरि लगाए धाँधलीको आरोप
अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी रहँदा वर्तमान राष्ट्रपति एवम् रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले 'वैध मत' को गणनाको हिसाबले आफू नै विजेता बन्ने दाबी गरेका छन्। उनले कुनै प्रमाणविना मतमा धाँधली भएको आरोप पनि लगाएका छन्।
दुई दिनको मौनतापछि ट्रम्पले यस्तो समयमा यो गुनासो गरेका छन्, जतिबेला दुई महत्वपूर्ण राज्य जर्जिया र पेन्सिलभेनियामा पोस्टल मतको जारी गणनामा उनको मत घटिरहेको छ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा जितको दाबी गर्दै अवैध मतबाट आफ्नो पक्षमा आएको चुनावी परिणामा 'चोर्ने' प्रयास भइरहेको आरोप लगाएका छन्।
विश्लेषकहरुले भने ट्रम्पको दाबीमा कुनै आधार नभएको बताएका छन्। ट्रम्पले जुन पोस्टल मतको गणनातर्फ संकेत गरिरहेका छन्, त्यो अवैध छैन। ती राज्यमा गणना अन्तिममा हुनुको कारण हो, अमेरिकाको कैयौं राज्यमा यस्तै प्रावधान छ।
अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकामा भइरहेको चुनाव व्यवस्थित रुपमा सम्पन्न भइरहेको बताएका छन्।
यसैबीच, राष्ट्रपति ट्रम्पका समर्थकहरुले कैयौं राज्यमा चुनावी परिणाम विरुद्ध कानूनी लडाइँका लागि करोडौं डलर जुटाउन थालेका छन्।
जारी छ मतगणना
राष्ट्रपति निर्वाचनको मतगणनामा इलेक्टोरल मतमा ट्रम्पभन्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन अगाडि छन्। द गार्जियनका अनुसार, बाइडेनलाई जितका लागि अब ६ इलेक्टोरल मतको खाँचो छ।
अन्तिम परिणाममा निर्णायक अर्थ राख्ने गरी अहिले जर्जिया, पेन्सिलभेनिया, नर्थ क्यारोलिन, नेभडा र अलास्कामा मत गणना जारी छ। जसमध्ये नेभडामा बाइडेनले अग्रता लिइरहेका छन्। अन्य राज्यमा ट्रम्प अगाडि छन्।
बाइडेनले मतान्तर बढाइरहेका नेभडामा करीब १६ प्रतिशतको हाराहारीमा मत गन्न बाँकी छ भने पेन्सिलभेनियामा १० प्रतिशत बाँकी छ।