कोरोना संक्रमितलाई प्लाज्मा जुटाउन मोबाइल एप
कोरोनाभाइरस संक्रमितको उपचारमा उपयोगी मानिएको प्लाज्माको व्यवस्थापनका लागि मोबाइल एप सञ्चालनमा ल्याइएको छ।
प्लाज्मा दान सहज पार्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको पहलमा एन्ड्रोइड फोनको गुगल प्लेस्टोरमा 'प्लाज्मा' एप सञ्चालन गरिएको हो।
संक्रमितको उपचारमा सहयोगी हुनसक्ने प्लाज्माको व्यवस्थापनमा सहयोग पुगोस् भनेर यो एन्ड्रोइड एप ल्याएको पौडेलले ट्वीट मार्फत जानकारी गराएका छन्।
प्लाज्मा थेरापी उपचार विधि अन्तर्गत कोरोना संक्रमण भएर निको भएका व्यक्तिबाट प्लाज्मा निकालेर संक्रमित व्यक्तिको उपचारमा प्रयोग गरिन्छ।
प्लाज्मा दिन चाहने दाता र प्लाज्मा आवश्यक परेका संक्रमितले यो एप मार्फत जोडिएर सहयोग गर्न र लिन सक्छन्।
कोरोनाबाट संक्रमणमुक्त भएका प्लाज्मा दिन मिल्ने र प्लाज्मा चाहिएका व्यक्तिमाझ यो एप पुर्याउन पनि नेता पौडेलले आग्रह गरेका छन्।