‘विद्यालय सञ्चालन कार्यढाँचा’ ल्याइँदै, यो वर्षको शैक्षिक सत्र ‘ओभरल्याप’ हुने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण बन्द भएका विद्यालय सञ्चालन गर्नका लागि ‘विद्यालय सञ्चालन कार्यढाँचा’ ल्याउन लागेको छ। सँगै यो वर्षको शैक्षिक सत्र चैत्रमा सकिने सम्भावना कम हुँदै गएपछि अर्को वर्ष ‘ओभरल्याप’ गर्ने तयारी पनि भइरहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन कार्यढाँचा’ ल्याउने तयारी गरेको छ। ‘विद्यालय सञ्चालन कार्यढाँचा’मा कोभिड–१९ का कारण बन्द भएका, बीचमा जोखिम कम हुँदा खुलेर पुनः जोखिम बढेपछि बन्द भएका विद्यालय सञ्चालनका लागि पु¥याउनुपर्ने प्रकृयाको बारेमा उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।
यो कार्यढाँचा युनिसेफ, डब्लुएचओले विद्यालय सञ्चालन सम्बन्धी तयार पारेको गाइडलाइनको आधारमा नेपालको अवस्था अनुसार तयार पारिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए। उनले भने, “हामीले शिक्षा सहजीकरण निर्देशिकामा न्यून जोखिम भएको क्षेत्रहरूमा विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था गरेका छौं। ती क्षेत्रहरूमा विद्यालय सञ्चालन गर्नका लागि अपनाउनुपर्ने प्रकृया यो ढाँचामा छ।”
कार्यढाँचामा विद्यालय खोल्नुअघि संक्रमण फैलन नदिन सम्पूर्ण कक्षा कोठा स्यानिटाइज गर्नुपर्ने, साबुनपानी पर्याप्त राख्नुपर्ने, भौतिक दूरी कायम हुने गरी विद्यार्थी राख्नुपर्ने लगायतका विषय रहेको प्रवक्ता शर्माले बताए। उनका अनुसार कार्यढाँचा अन्तिम चरणमा पुगेको छ। जसलाई यो हप्ताभित्रै सार्वजनिक गर्ने तयारी गरिएको छ।
मन्त्रालयले शैक्षिक सत्र खेर जान नदिन ‘शिक्षा सहजीकरण निर्देशिका’ जारी गरेर अनलाइन कक्षादेखि न्यून जोखिम क्षेत्रमा विद्यालय खोल्नेसम्मको विकल्प दिएको छ। तर, केही स्थानीय तहले जोखिम कम भएको भन्दै विद्यालय सञ्चालन गर्ने तयारी गर्दै गर्दा प्रशासनले रोक लगाएका कारण विद्यालय खुल्न सकेका छैनन्। अहिले देशभरका अधिकांश विद्यालय बन्द छन्।
यो वर्षको शैक्षिक सत्रको ‘ओभरल्याप’ हुने
यो वर्षको शैक्षिक सत्र चैत्रमा सकिने सम्भावना कम हुँदै गएपछि अर्को वर्ष ‘ओभरल्याप’ गर्ने तयारी भइरहेको छ।
मन्त्रालयले ‘शिक्षा सहजीकरण निर्देशिका’ १ असोजदेखि लागू गर्दै शैक्षिक सत्र शुरू भएको जनाएको थियो। उक्त निर्देशिका अनुसार सबै स्थानीय तहलाई लागू गर्न निर्देशन दिइएको थियो। तर, अहिले पनि धेरै विद्यार्थी कुनै पनि शैक्षिक गतिविधिसँग जोडिन नसकेकोले चैत्रमा नै शैक्षिक सत्र पूरा हुने सम्भावना कम भएर गएको मन्त्रालयको ठहर छ।
निर्देशिकामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरू, स्वध्ययन, दूर तथा खुला शिक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ। तर, उपत्यकाकै केही प्राथमिक तहका विद्यालयहरूले र ग्रामीण क्षेत्रका विद्यालयहरूले प्राविधिक कमजोरीका कारण सरकारको निर्देशिका अनुसार अध्यापन गराउन सकिरहेका छैनन्।
विविध कारणले धेरै विद्यार्थी शैक्षिक गतिविधिमा संलग्न नभएकोले यो वर्षको शैक्षिक सत्र अर्को वर्षको केही महीनामा खप्टाउने तयारी मन्त्रालयले गरिरहेको छ। मन्त्रालयका प्रवक्ता शर्मा भन्छन्, “सबै विद्यार्थी निर्देशिका अनुसारको शैक्षिक गतिविधिमा संलग्न भएका हुन्थे भने शैक्षिक सत्र पूरा गर्न समस्या थिएन। अब चाहिँ ओभरल्याप गर्नुपर्ने अवस्था आएको छ।”
शिक्षा ऐन तथा नियमावलीमा भएको व्यवस्थाअनुसार विद्यार्थी पाठ्यभार जम्मा १९२ दिन अर्थात् १ हजार २४ घण्टा क्रेडिट आवर रहेको छ । त्यसमा विद्यार्थी कुल दिनको ७० प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ ।