कोरोना संक्रमण बढिरहेको काठमाडौंमा किन रित्तिंदैछन् सरकारी आइसोलेसन सेन्टर ?
कोरोना संक्रमित बढ्दै गए पनि संस्थागत आइसोलेसनमा बस्न पैसा तिर्नुपर्ने लगायतका कारणले सरकारी आइसोलेसन सेन्टर खाली हुन थालेका छन् भने होम आइसोलेसनका कारण परिवार नै संक्रमित हुने क्रम बढेको छ।
काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रमा सरकारले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा १८५ जना कोरोना संक्रमित राख्न सक्ने क्षमता छ। चाप बढी भएको बेला त २२० जनासम्म संक्रमित राखिएको थियो। तर, काठमाडौं जिल्लामा संक्रमित बढिरहेको बेला अहिले उक्त आइसोलेसन सेन्टरमा ५१ जना मात्र संक्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० कात्तिक बिहीबारको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा मात्र उपत्यकामा १ हजार ३९८ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या १९ हजार ८५५ छ, जसमध्ये काठमाडौं जिल्लामा मात्रै १६ हजार ३३१ संक्रमित छन्। तर, यीमध्ये अधिकांश होम आइसोलेसनमै बसिरहेका छन्। सरकारले व्यवस्था गरेको आइसोलेसन सेन्टर रित्तिंदै गएका छन्।
सरकारले आइसोलेसनमा बस्नेले रकम तिर्नुपर्ने निर्णय गरेपछि संस्थागत आइसोलेसन सेन्टरहरू खाली हुन थालेका हुन्। आइसोलेसन सेन्टरमा बस्न दिनको रु.२ हजार शुल्क तोकिएपछि संक्रमितहरू हच्किएर घरमै आइसोलेसनमा बस्न थालेका हुन्। घरमा गर्भवती, सुत्केरी, दीर्घरोगी भएका र छुट्टै कोठा नभएका संक्रमितहरू मात्र कुनै उपाय नभएर आइसोलेसन सेन्टर जाने गरेको पाइएको छ। यो अवस्था उपत्यकाका तीन वटै जिल्लामा छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० कात्तिक बिहीबारसम्मको तथ्यांक अनुसार, भक्तपुर जिल्लामा एक हजार २४८ जना सक्रिय संक्रमित छन्। तीमध्ये करीब १५० जना मात्र सरकारले बनाएका संस्थागत आइसोलेसन र अस्पतालमा छन्। जिल्लाभित्र अस्पताल समेत गरी सात वटा सरकारी आइसोलेसन सेन्टर भए पनि ती प्रायः खाली छन्।
देशभरका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी संक्रमित छन्। सक्रिय संक्रमितको संख्या ९ हजार पुग्न लागेको महानगरको शहरी स्वास्थ्य विभागका अनुसार, संस्थागत आइसोलेसनमा करीब २०० जना मात्र छन्। करीब ५०० जना अस्पतालमा छन् भने बाँकी सबै होम आइसोलेसनमा छन्।
यस्तै, ललितपुर जिल्लामा बिहीबारसम्म २ हजार २७६ जना सक्रिय संक्रमितमध्ये ८३ प्रतिशत अर्थात् एक हजार ८९१ जना होम आइसोलेसनमा छन्। ललितपुरमा त अस्पताल बाहेक एक सय जना राख्न सक्ने आइसोलेसन सेन्टर समेत छैन। त्यसैले अहिले ज्यापु समाजको भवनलाई अक्सिजनसहित १०० बेडको आइसोलेसन सेन्टर बनाउने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए।
देशभरका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी संक्रमित छन्। सक्रिय संक्रमितको संख्या ९ हजार पुग्न लागेको महानगरको शहरी स्वास्थ्य विभागका अनुसार, संस्थागत आइसोलेसनमा करीब २०० जना मात्र छन्। करीब ५०० जना अस्पतालमा छन् भने बाँकी सबै होम आइसोलेसनमा छन्।
देशभरिको कुल तथ्यांकले संस्थागत आइसोलेसन सेन्टरहरु खाली हुँदै गएको देखाउँछ। स्वास्थ्य मन्त्रालयले १९ कात्तिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार, कूल सक्रिय संक्रमित ३६ हजार ९११ हजारमध्ये ३० हजार १३१ होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा बस्नेको संख्या ६ हजार ७८० मात्रै छ। जबकि एक महीना अघि १९ असोजको तथ्यांकमा २३ हजार ५०७ सक्रिय संक्रमितमध्ये होम आइसोलेसन र संस्थागत आइसोलेसनमा बस्नेको संख्या बराबरी जस्तै थियो।
होम आइसोलेसनले संक्रमण फैलिने जोखिम
संस्थागत आइसोलेसन सेन्टरका व्यवस्थापकहरूका अनुसार, पैसा तिर्नुपर्ने कारणले संक्रमित आउने दर घट्दै गएको हो।
कीर्तिपुरस्थित आइसोलेसन सेन्टरका व्यवस्थापक डा. जितेन्द्र श्रेष्ठले संस्थागत आइसोलेसनमा बस्दा पैसा तिर्नुपर्ने भएकाले संक्रमित नआएको र सबैलाई आउन आग्रह गर्न पनि नसकिएको बताए। उनका अनुसार, पैसा तिर्न सक्दिनँ भन्नेलाई निःशुल्क राख्ने पनि गरिएको छ।
श्रेष्ठले भने, “होम आइसोलेसनमा बसेका कारण संक्रमितबाट अन्य व्यक्तिमा संक्रमण फैलिएको भन्ने सरकारलाई नलागेको होइन, तर संस्थागत आइसोलेसनमा बस्नेले पैसा तिर्नुपर्ने हुँदा संक्रमित नआएपछि सबैलाई आउन आग्रह गर्न नसकिएको हो।”
अर्को एक आइसोलेसन सेन्टरका सञ्चालकले घरमा बस्न धेरै संक्रमितका लागि सजिलो नभए पनि सरकारी आइसोलेसनमा बसेर दैनिक दुई हजार तिर्नुभन्दा घरमा भए त्यही पैसाले सबैलाई पुग्छ भन्ने सोचले पनि नआउने गरेको बताए।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. गेलालले भने संक्रमित सरकारी आइसोलेसनमा बस्न नआउनुको पछाडि पैसा तिर्नुपर्ने मात्र कारण नरहेको बताए। पछिल्लो समय संक्रमितलाई टोलछिमेकले हेला र असहयोग गर्ने क्रम हटेकाले पनि घरमै बस्न चाहेको हुनसक्ने उनले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम आइसोलेसन सेन्टरमा बस्न तोकिएको शुल्क तिर्न सक्नेका लागि बताउँछन्। सरकारले पैसा तिर्न नसक्नेलाई आइसोलेसनमा निःशुल्क राख्ने उनको भनाइ छ।
“संघीय सरकारले जेसुकै होस् भनेर छोडिसक्यो, त्यसैले स्थानीय र प्रदेश सरकारले बढी जोखिम देखिएका ठाउँहरुमा धेरैभन्दा धेरै परीक्षण गर्ने र सामान्य लक्षण भएका तथा लक्षण नभएकाहरुलाई संस्थागत आइसोलेसनमै लैजानुपर्छ।” - डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद्
काठमाडौंको अनुपातमा कम संक्रमित भए पनि भक्तपुर जिल्लामा अधिकांश संक्रमित होम आइसोलेसनमै रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्। उनी भन्छिन्, “सरकारी आइसोलेसन सेन्टरमा नबस्नुको एउटा कारण पैसा होला, यो सँगै पछिल्लो समय चाडबाड परेको, परिवारका सबै सदस्य संक्रमित भइरहेको र समाजमा संक्रमण पहिले जस्तो लाञ्छनाको विषय हुन छाडेकाले संक्रमितहरु घरमै बस्न थालेको देखिन्छ।”
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको ‘हटस्पट’ बनिरहेको छ। कतिपय परिवारका सबै र कतिपयका धेरैजसो सदस्य संक्रमित भएका छन्। परिवारभित्रै संक्रमण फलिँदै जानुको कारण होम आइसोलेसनको बसाइ प्रमुख रहेको विज्ञहरुको भनाइ छ।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे होम आइसोलेसनमा बस्ने क्रमले समुदायमा संक्रमणको जोखिम बढेको बताउँछन्। संयुक्त परिवारमा तथा भाडामा बस्नेहरु बाध्यताले एकै ठाउँमा बस्नुपर्ने र कतिपय भने परीक्षण नगरी तथा पोजिटिभ रिपोर्ट आए पनि नियमित रूपमा घर बाहिर निस्किने तथा काम गर्ने गरिरहँदा समस्या देखिएको उनको भनाइ छ।
डा. पाण्डे काठमाडौंमा महामारी नियन्त्रण बाहिर जान लागेको भन्दै सकेसम्म धेरैलाई संस्थागत आइसोलेसनमै लैजानुपर्ने बताउँछन्। उनी भन्छन्, “संघीय सरकारले जेसुकै होस् भनेर छोडिसक्यो, त्यसैले स्थानीय र प्रदेश सरकारले बढी जोखिम देखिएका ठाउँहरुमा धेरैभन्दा धेरै परीक्षण गर्ने र सामान्य लक्षण भएका तथा लक्षण नभएकाहरुलाई संस्थागत आइसोलेसनमै लैजानुपर्छ।”
संक्रमितहरूलाई अहिले भएका आइसोलेसन सेन्टरमा क्षमता अनुसार राख्ने, क्षमता विस्तार गर्न विभिन्न ठाउँमा सामुदायिक तथा निजी भवनहरु भाडामा लिएर प्रयोग गर्ने र खाली ठाउँहरुमा अस्थायी टहरा बनाउन सकिने डा. पाण्डेको सुझाव छ। उनी भन्छन्, “होम आइसोलेसनमा बस्नेहरूले जनस्वास्थ्यका मापदण्ड पालना गरे/नगरेको अनुगमन पनि गर्ने र सबै संक्रमितलाई निःशुल्क रुपमा संस्थागत आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन सके मात्रै महामारी नियन्त्रणमा सफलता मिल्न सक्छ।