‘फेक रेस्क्यू’मा मुछिएको विदेशी कम्पनीलाई पर्वतीय पर्यटनको जिम्मा दिने प्रयास
नेपाल घुम्न आउने विदेशी पर्यटकको स्वास्थ्य बीमा र उद्धारसहितको जिम्मा एक विदेशी कम्पनीलाई दिन खोज्दा पर्यटन बोर्ड विवादमा तानिएको छ। विवादको कारण हो, हिजो पर्यटकको 'फेक रेस्क्यू'मा मुछिएको विवादित कम्पनीलाई विना प्रतिस्पर्धा यस्तो जिम्मेवारी दिन खोजिनु।
पर्वतीय पर्यटनका लागि आएका विदेशी पर्यटकको बीमा र उद्धारसम्बन्धी कामका लागि नेपाल पर्यटन बोर्डले एक विदेशी कम्पनीलाई अगाडि सारेको छ। रोचक त के छ भने बोर्डले अगाडि सारेको यो कम्पनी नेपालमा पर्यटनको नक्कली उद्धार (फेक रेस्क्यू)मा मुछिएको कम्पनी हो। त्यो हो, अमेरिकी कम्पनी ‘ग्लोबल रेस्क्यू।’
‘ग्लोबल रेस्क्यू’ त्यही कम्पनी हो जो दुई वर्ष अघि पर्वतारोहण तथा उच्च हिमाली क्षेत्रको पदयात्रामा गएका पर्यटकलाई जानीबुझीकन बिरामी पार्ने र उनीहरुको उपचार तथा उद्धारको नाममा बीमा कम्पनीबाट रकम असुल्ने कार्यमा सक्रिय रहेको भनेर चर्चामा आएको थियो।
दुई वर्ष अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको अध्ययन समितिले विदेशी पर्यटकको उद्धारका नाममा विभिन्न १५ वटा नेपाली कम्पनी प्रत्यक्ष रुपमा 'फेक रेस्क्यू'मा संलग्न रहेको प्रतिवेदन तयार पारेको थियो। तिनै नेपाली कम्पनीलाई 'फेक रेस्क्यू'मा सहयोग गर्ने र विदेशी बीमा कम्पनीको एजेन्टका रूपमा काम गर्ने भनेर 'ग्लोवल रेस्क्यू'को नाम चर्चामा आएको थियो। मन्त्रालयको प्रतिवेदनले फेक रेस्क्यूमा संलग्न नेपाली कम्पनीको मात्र नाम सार्वजनिक गरे पनि नेपाली कम्पनीलाई एजेन्ट राखेर मिलेमतो गर्ने र 'फेक रेस्क्यू'को काममा प्रोत्साहन गर्ने कम्पनीको रुपमा 'ग्लोबल रेस्क्यू' सक्रिय रहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले हिमालखबरलाई बताए। लामाले भने, ‘‘फेक रेस्क्यू नेपाली कम्पनीबाट भएको भए पनि तिनलाई सहयोग गर्ने र विदेशी बीमा कम्पनीको एजेन्टको रुपमा काम गरेकोले ग्लोबल पनि सिधै जोडिएको थियो।’’
सोही कम्पनीमार्फत पर्वतीय पर्यटनका लागि नेपाल आएका पर्यटकलाई जोखिम न्यूनीकरण र कोभिड-१९ व्यवस्थापन सेवा दिने भन्दै नेपाल पर्यटन बोर्डमार्फत प्रस्ताव अघि बढाइएको छ। प्रस्तावअनुसार यो कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर जाँच गर्ने, पर्यटकको आकस्मिक उद्धारदेखि उपचारसम्मका लागि बीमा गर्नेसम्मको जिम्मेवारी दिन खोजिएको छ।
पर्यटन बोर्डले कोभिडपछिको पर्यटक व्यवस्थापन, पर्यटकीय सेवा र सुविधा दिएर पर्यटकका लागि बीमा, उद्धार र उपचारसहितको एकीकृत सेवा सञ्चालन गर्ने कम्पनीका रुपमा 'ग्लोबल रेस्क्यू'को प्रस्तावलाई अगाडि बढाएको हो। यो प्रस्तावमाथि बोर्डले गएको १५ कात्तिकमा निजी क्षेत्रका पर्यटन व्यवसायीसँग छलफल र परामर्श समेत गरिसकेको छ। बोर्डले भर्चुअल बैठकमार्फत नेपाल पर्वतारोहण संघ (एनएमए), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), होटल संघ नेपाल (हान)का अध्यक्ष र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)का महासचिवसँग छलफलसमेत गरेको थियो।
पर्यटन बोर्डका अनुसार पर्यटकलाई सेवा दिने भन्दै सो कम्पनीले दुई साता पहिले मात्र बोर्डमा प्रस्ताव पेश गरेको थियो। विदेशी पर्यटकलाई २४ सै घण्टा मेडिकल तथा आकस्मिक सेवा दिने, कोभिड–१९ को व्यवस्थापन कार्यक्रम अन्तर्गत विमानस्थलमै कोरोना परीक्षण गर्ने, क्वारेन्टिन सेवा तथा आकस्मिक उद्धार सेवासमेत दिने उसको प्रस्ताव छ। 'ग्लोबल रेस्क्यू'ले न्यूनतम ३० दिनका लागि एक जना पर्यटकबाट १६० अमेरिकी डलर, ६० दिनका लागि ३०० डलर र ९० दिनका लागि ४२० डलर लिने प्रस्ताव बोर्डसमक्ष पेश गरेको छ। उसको प्रस्तावमा नेपाल पर्यटन बोर्डलाई एकजना पर्यटकको १८ अमेरिकी डलर सेवा शुल्कका रुपमा कमिसन दिइनेसमेत उल्लेख छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनन्जय रेग्मीले यही १८ डलरको लोभमा 'फेक रेस्क्यू'मा संलग्न कम्पनीलाई अगाडि सारेको आरोप पर्यटन व्यवसायीहरुले लगाएका छन्।
व्यवसायीहरुका अनुसार यो कम्पनीलाई पर्यटकको बीमा र उद्धारसम्बन्धी काम गर्ने जिम्मेवारी विना प्रतिस्पर्धा नै दिन खोजिएको छ। बोर्डले जुम बैठकमा एक्कासि 'ग्लोबल रेस्क्यू'को प्रस्ताव पेश गरेको, केही सीमित व्यवसायीसँग मात्र त्यसबारे छलफल गरेर प्रस्ताव अगाडि बढाउन खोजेको बताएका छन्। नाट्टाका अध्यक्ष अच्चुत गुरागाईं कोभिडपछिको पर्यटकीय सेवामा राम्रो पहल भए पनि झ्यालबाट प्रस्ताव ल्याइएको बताउँछन्। राम्रो मनसायले प्रस्ताव आएको हो भने ग्लोबल टेण्डर गर्नुपर्ने, पहिलो चरणमै व्यवसायी, नेपाली बीमा कम्पनी र सम्बन्धित सरोकारवालासँग छलफल गर्नुपर्ने भन्दै उनले व्यक्तिगत लाभ खोजेर सीधै विदेशी कम्पनीको प्रस्तावमाथि छलफल गराएको आरोप लगाए। बीमा र उद्धारका नाममा बोर्डले सिण्डिकेट गर्न खोजेको, पर्यटकको नेपाल बसाइ औसत १२ दिन मात्र भए पनि न्यूनतम ३० दिनको बीमा गर्ने प्रस्ताव ल्याएको, पर्वतीय पर्यटनलाई मात्रै महत्व दिइएको र अन्य क्षेत्रका पर्यटकलाई बेवास्ता गरिएकाले यस्तो प्रस्ताव स्वीकार गर्न नहुने राय दिएको गुरागाईं बताउँछन्।
बोर्डले निजी क्षेत्रको राय मागिएको र सो रायसहितको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष पेश गर्ने जानकारी भर्चुअल बैठकमै दिएको थियो। त्यो प्रस्ताव बोर्डले पर्यटन मन्त्रालयमा बुझाइसकेको छ। मन्त्रालयका पर्यटन महाशाखाका सहसचिव प्रदीपकुमार कोइरालाले प्रस्ताव आएर छलफल पनि भएको तर अन्तिम रुप भने दिइनसकेको बताए। कानूनी प्रक्रिया पूरा वा सरकारी स्तरबाट निर्णय नभएसम्म यसले औपचारिकता नपाउने उल्लेख गर्दै कोइरालाले पर्यटनप्रतिको नकारात्मक असरलाई चिर्न र हिमाली क्षेत्रको उद्धारमा आएको समस्यालाई समाधान गर्न समग्र विदेशी पर्यटकसमक्ष सकारात्मक प्रभाव बनाउने पहल मात्र भएको तर्क गरे।
निजी क्षेत्रका हेलिकप्टर व्यवसायीको संस्था, हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा कँडेल बोर्डको प्रस्ताव एकतर्फी भएको बताउँछन्। ‘‘एउटा हेलिकप्टरलाई मात्र काम दिने गरी प्रस्ताव आएकाले यसलाई स्वीकार गर्न सकिन्न’’, कँडेल भन्छन्, ‘‘निहित स्वार्थ राखेर प्रस्ताव आएको छ, बीमा कम्पनी पनि नभएर ब्रोकर कम्पनीमार्फत बोर्डले कमिशनमा काम गर्न खोजेको देखिन्छ।’’ बोर्डले पठाएको ग्लोबल रेस्क्यूको प्रस्ताव हेर्दा एउटै कम्पनीलाई हवाई (हेली) उद्धारको जिम्मा दिन खोजिएको, पर्यटक उद्धारका नाममा बोर्डले कमिशनको लोभ गरेकाले प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेर जुनसुकै हेलिकप्टरबाट उद्धार गर्न सक्ने व्यवस्था गरिनुपर्ने कँडेल बताउँछन्।
नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्धन गर्ने निकाय मात्र भएकाले बीमा र उद्धारमा कमिसन लिएर काम गर्न नमिल्ने व्यवसायीहरु बताउँछन्। यो प्रस्तावलाई पर्यटन व्यवसायीसँग जोड्नुपर्ने र कम्तीमा निजी क्षेत्रको राय लिनुपर्ने सल्लाह दिएका बोर्डकै एक सदस्य दीपक महतका अनुसार प्रस्ताव सीईओ रेग्मीले ल्याएका थिए। यस्तो प्रस्तावलाई विना छलफल अगाडि बढाउन नहुने र अन्य कम्पनीलाई प्रतिस्पर्धाबाट आउने ढोका बन्द गरेर दिन नहुने भन्दै निजी क्षेत्रसँगको छलफलमा पठाएको उनले बताए।
कसरी आयो ग्लोबलको प्रस्ताव ?
'ग्लोबल रेस्क्यू' सन् २००४ मा स्थापना भएको अमेरिकी कम्पनी हो। यसले उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको उद्धार गर्न हेलिकप्टर उडाउने, समन्वय गर्ने र उद्धारमा सहयोग पुर्याउनेसहितको एजेन्टको काम गर्छ। यो कम्पनीले नेपालमा सगरमाथा, कोथे, दिङबोचे, लोबुचे, मेरापिकसहितका क्षेत्रबाट पर्यटकको उद्धार उडान गरिसकेको छ। सन् २०१९ मा ८७ वटा, २०१७ र २०१८ मा करीब १०० वटा उद्धार उडान यसले गरेको थियो। पर्यटन बोर्डसमक्ष पेश गरेको प्रस्तावमा पनि यो कम्पनीले २०७२ सालको भूकम्पका बेला नेपालबाट करीब २०० पर्यटक उद्धार गरेको उल्लेख छ।
'ग्लोबल रेस्क्यू'ले कोरोनाभाइरस संक्रमणको महामारी शुरु भएपछि जमैकामा समेत पर्यटकको उद्धार र बीमा सेवा सम्बन्धी काम गरिरहेको कम्पनीका रुपमा आफूलाई चिनाएको छ। जमैकामा प्रति पर्यटक ५० डलरमै यस्तो सेवा दिएको उसको भनाइ छ। नेपालमा बीमादेखि उद्धारसम्मको जिम्मा लिनेगरी पर्यटकको बसाइ समय अनुसार न्यूनतम ५० हजार डलरको बीमा गराउने प्रस्ताव उसले गरेको छ। यो प्रस्ताव उसले सीधै पर्यटन बोर्डलाई पठाएको हो।
यसरी हुन्थ्यो 'फेक रेस्क्यू'
यसअघि नेपाल आउने विदेशी पर्यटक स्वेच्छाले आफ्नै देशका कम्पनीबाट बीमा गरेर आउने गरेका थिए। पर्वतारोहणमा जाने पर्यटकले २५ देखि ३० हजार डलर र अन्य पर्यटकले ५ देखि १०/१५ हजार डलरसम्मको बीमा गरेर आउने गरेका थिए।
नेपालमा आउने विदेशी नागरिक बीमा नगरी आउन नपाउने व्यवस्था छ। कुनै कारणवश पर्यटकलाई उद्धार गर्नुपर्ने भयो भने सम्बन्धित एजेन्सीले बीमा कम्पनीलाई जानकारी गराउनुपर्छ। सो जानकारीपछि हेलिकप्टर उडाउने, पर्यटकको उद्धार गरेर ल्याउने र उपचारसहितको व्यवस्था नेपाली एजेन्सीले मिलाउँछन्। त्यसबाट यस्तो उद्धार र उपचारमा भएको खर्चको तुलनामा केही बढी बिल पठाएर नेपाली एजेन्सीले पर्यटकको बीमा रकम दाबी गर्ने गरेका थिए। जस्तो कि, यो रकम दाबी गर्दा ३ हजार डलर खर्च भएको छ भने तीन गुणाभन्दा बढीको बिल नेपाली कम्पनीले सम्बन्धित बीमा कम्पनीलाई पठाउने गरेको समेत पाइएको थियो। पर्वतीय पर्यटन सेवा सस्तोमा दिने र पर्यटकलाई बिरामी बनाएर उद्धारको नाममा लाभ लिने क्रम बढेको तथ्य सरकारी छानबिन समितिले नै गरेका थिए। त्यसपछि 'फेक रेक्स्यू'का नाममा अन्तर्राष्ट्रिय जगतमा नेपालको नकारात्मक प्रचार भएको थियो।
'ग्लोबल रेस्क्यू' पछिल्लो समय नेपालमै कर्मचारी राखेर काम गरिरहेको विदेशी बीमा असिस्टेन्ट कम्पनी हो। यसले आफ्नो सेवा पनि बेच्ने र विदेशी बीमा कम्पनीको पनि काम गरिदिने गर्थ्यो। ट्रेकिङ कम्पनी र नेपाली हेलिकप्टर कम्पनीसँग सिधै सहकार्य गरेर उसले काम गर्दै आएको थियो। हिमाली क्षेत्रमा पर्यटकको उद्धारमा सक्रिय अरु नेपाली एजेन्टले नै विरोध गर्न थालेपछि र 'फेक रेस्क्यू'का घटना बाहिर आएपछि भने ग्लोबल फिर्ता गएको एक हेलिकप्टर सञ्चालक बताउँछन्।
'ग्लोबल रेस्क्यू' आफैमा बीमा कम्पनी नभएको, पर्यटन बोर्डको काम पनि पर्यटन प्रवर्धन मात्र गर्ने भएकाले बोर्डले आफ्नो अधिकारक्षेत्र बाहिर गएर 'ग्लोबल रेस्क्यू'लाई नेपालको पर्यटनको ठेक्का दिन लागेकाले बोर्डको प्रस्ताव स्वीकार गर्न नसकिने पर्यटन व्यवसायी ऋषी भण्डारी बताउँछन्।
पर्यटन व्यवसायी मोहन लम्साल पर्यटकको उद्धार गर्नको लागि एउटै कम्पनी नचाहिने र संसारभरबाट आउने पर्यटकलाई ग्लोबल रेस्क्यूबाट बीमा संभव पनि नभएको बताउँछन्। पर्यटन बोर्डले यस्तो बाध्यकारी व्यवस्था गरेको अवस्थामा पर्यटकको अधिकार खोसिने र संसारभरका पर्यटक 'ग्लोबल रेस्क्यू' खोज्दै जान सक्ने अवस्था पनि नहुने उनले बताए। यसबाट नेपालको पर्यटनबारे नकारात्मक सन्देश जाने र त्यो देशकै लागि घातक हुने लम्सालको भनाइ छ। उद्धारकार्यलाई व्यवस्थित बनाउन सबै हेलिकप्टर उडानको दररेट गन्तव्य र दूरीका आधारमा सार्वजनिक गर्ने हो भने 'फेक रेक्स्यू'को समस्या त्यहीँबाट समाधान हुने उनी बताउँछन्।
‘‘निजी क्षेत्रको तर्फबाट आवश्यक राय लिँदा उल्टै बदनाम गराइयो, ग्लोबल रेस्क्यूको सबै प्रक्रिया अब रोकिन्छ र ग्लोबल टेण्डर गरेर आवश्यक कम्पनी छनोट गर्ने काम हुन्छ।’’
- डा.धनन्जय रेग्मी, सीईओ, पर्यटन बाेर्ड
विरोधपछि सीईओले भने– ‘अब ग्लोबल टेण्डर गर्छौं’
नेपाली व्यवसायी नै विरोधमा उत्रिने काम नेपाल पर्यटन बोर्डले किन गर्यो ? बोर्डका सीईओ डा.धनन्जय रेग्मी बोर्डसमक्ष आएको प्रस्तावमाथि आवश्यक छलफल चलाएको र उपयुक्त प्रक्रिया अघि बढाउने प्रयास मात्र भएको दाबी गर्छन्। ‘‘निजी क्षेत्रको तर्फबाट आवश्यक राय लिंदा उल्टै बदनाम गराइयो’’ रेग्मी भन्छन्, ‘‘नेपालमा कोभिडपछि एउटा रिलायबल कम्पनी आवश्यक परेकोले बीमा, उद्धार, उपचारसहितको एकीकृत सेवा एउटै कम्पनीबाट लिन खोजिएको हो।’’
यसअघि नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय स्तरमा गइरहेको नकारात्मक सन्देश हट्ने गरिको राम्रो प्रस्ताव भएकाले अगाडि बढ्न खोजिएको र बोर्डले कमिसन पाउने लोभ नगरेको दाबी रेग्मीले गरे। 'ग्लोबल रेस्क्यू'ले गरेको प्रस्तावमाथि छलफलकै क्रममा यसको विरोध भएको, बोर्डको सीईओले एकलौटी लाभ लिन खोजेको र व्यापार गर्न खोजेजस्तो प्रचार गरिएको गुनासो गर्दै उनले भने, ‘‘ग्लोबल रेस्क्यूको सबै प्रक्रिया अब रोकिन्छ र ग्लोबल टेण्डर गरेर आवश्यक कम्पनी छनोट गर्ने काम हुन्छ।’’