कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ। २१ कात्तिक (शुक्रबार)का लागि तय भएको बैठक तीन दिन पछि सारिएको छ। शुक्रबार दिउँसो १ बजेलाई तय बैठक २४ कात्तिक दिउँसो १ बजेसम्मका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उनका अनुसार उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरू उपस्थिति हुनेछन्।
त्यसअघि बिहीबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा अनौपचारिक रूपमा पदाधिकारी बैठक बस्यो। बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीहरूको सहभागिता थियो।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जनाले पार्टी सञ्चालनबारे विरोध प्रकट गरेको विषयमा छलफल भएको छ। बैठकमा बोल्ने सदस्यहरूको पालो नसकिएकाले केन्द्रीय कार्यसमितिको बैठक सारिएको मुख्यसचिव पौडेलले बताए।
उनका अनुसार पदाधिकारी बैठक भोलि दिउँसो १२ बजे देउवानिवास बूढानीलकण्ठमा फेरि बस्नेछ। पदाधिकारी बैठक सकिएपछि मात्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने कांग्रेसको तयारी छ।
१२ असोजमा पौडेलसहित २७ जना नेताले सभापतिको एकलौटी कार्यशैली हटाएर पार्टीलाई विधानसम्मत चलाउनुपर्ने लगायत विषयमा पार्टी मुख्यसचिवमार्फत केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरेका थिए।