१० महीनामा २ लाख १८ हजार पर्यटक नेपाल भित्रिए, पर्यटकको नाममा गैरपर्यटक भित्रिएको व्यवसायीको गुनासो
कोरोना कहरका बीच सन् २०२० को १० महीनामा नेपालमा दुई लाख १८ हजार १७३ जना पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछानेका अनुसार कोराना कहर शुरू भएको तीन महीनामा उल्लेख्य पर्यटक आएका थिए भने त्यसपछिका ७ महीना पर्यटक आगमन न्यून छ।
बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तयांक अनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६, फेब्रुअरीमा एक लाख एक हजार ४०० र मार्चमा ३४ हजार २५ जना पर्यटक नेपाल आएका छन्। त्यसपछिको अप्रिलदेखि सेप्टेम्बरसम्मा नेपाल आएका पर्यटक नभएर गैरपर्यटक तर विदेशी नागरिकमात्रै हुन्। महमारीको बीचमा आउने कुटनीतिक नियोगका पदाधिकारी, विदेशी श्रमिक वा प्राविधिक र विदेशी नागरिकता लिएका नेपाली नागरिकसहितका व्यक्ति आएका छन्।
नेपाली बाहेक सबै विदेशीलाई पर्यटक मानिने भएकोले वास्तविक पर्यटक छुट्याउने संयन्त्र नभएको पर्यटन बोर्डका सहप्रवक्ता लामिछाने बताउँछन्। उनका अनुसार अध्यागमन विभागले विदेशी नागरिक सबै पर्यटक भनेर विवरण राख्ने र सोही विवरण बोर्डमा आइपुग्छ। बोर्डले सोही तथ्यांकलाई विश्लेषण गर्ने गरेको छ।
सन् २०२० को अप्रिलमा १३ जना, मेमा ३० जना, जुनमा १०० जना, जुलाईमा १९५ जना, अगस्टमा २६८ जना विदेशी नागरिक नेपाल आइपुगेका छन्। यो समयमा नेपालमा नियमित हवाई उडान नभएकोले चार्टर्ड उडानमार्फत् आएका कुटनीतिक नियोग र नेपाली मुलका विदेशीसहितका नागरिक थिए। सेप्टेम्बरमा ५८२ र अक्टोबरमा १८७४ जना विदेशी नेपाल आइपुगेका छन्।
पर्यटन व्यवसायी ऋषि भण्डारीका अनुसार अक्टोबरमा आएका १८७४ जना मध्ये ६० जना मात्रै ट्रेकिङमा र ३४ जना पर्वतारोहणमा गएका छन्। यो महीना जम्मा ९४ जना पर्यटकीय गतिविधिमा रहेको र बाँकी १७७७ जना विदेशी नेपाल आएपनि पर्यटकीय गतिविधिमा छैनन्।
“सरकारले हाल पदयात्रा र पर्वतारोहण पर्यटनका लागि मात्रै खुला गरेको भएपनि १७७७ जनाले नेपाल प्रवेशमा कसरी भिसा पाए ?” भण्डारीको प्रश्न छ। पर्वतीय र पदयात्रा बाहेकका लागि पर्यटक खुला नभएकोले कुटनीतिक नियोग तथा नेपाली मुलका विदेशी नागरिक मात्रै आएको हुनसक्ने पनि लामिछाने बताउँछन्।