संक्रमणमुक्त नहुँदै घुमफिर गरेको पाइए कारबाही गर्ने सुनसरी प्रशासनको चेतावनी
जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोनाभाइरस संक्रमितहरू घुमिरहेको पाइए कारबाही गर्ने चेतावनी जनाएको छ। सुनसरी प्रशासनले कोरोना संक्रमित भएका समाजका प्रतिष्ठित व्यक्तिहरू संक्रमणमुक्त नहुँदै घुमफिर गरिरहेको गुनासो आएकाले त्यस्तो भेटिएमा कारबाही गर्ने चेतावनी दिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलद्वारा जारी सूचनामा रोग नियन्त्रणका लागि सकृय हुनुपर्ने चिकत्सक, इञ्जिनियर, कर्मचारी, सामाजिक कार्यकर्ता लगायतका व्यक्तिहरू नै आइसोलेसनमा नबसेको, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी घुमफिर गरिरहेको गुनासो आएको उल्लेख छ।
संक्रमित भई आइसोलेसनमा नबसी घुमफिर गरेको भेटिएमा जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रामक रोग नियन्त्रण ऐन तथा अन्य प्रचलित कानून बमोजिम कारबाही गर्ने जनाएको छ। साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेर घुमफिर गरिरहेको पाइएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन समेत आह्वान गरेको छ।
त्यस्ता व्यक्तिलाई तत्काल कारबाही गर्न जिल्ला प्रहरी कार्यालय अथवा मातहतको सबै युनिटलाई निर्देशन दिइएको छ।
सुनसरी जिल्लामा संक्रमण नियन्त्रणका लागी स्वास्थ सावधानीबारे सर्वसाधारणमा जनचेतना फैलाउन सबै स्थानीय तहबाट माइकिङ, पर्चा, पम्प्लेट प्रकाशन गरेको र १० वटा आइसोलेसन केन्द्र स्थापना गरी संचालनमा ल्याएको प्रशासनले जनाएको छ।
घरमा पर्याप्त पुर्वाधार भएका व्यक्तिहरूले होम आइसोलेसनमा बस्न पाउने व्यवस्था समेत कार्यान्यवनमा ल्याएको प्रशासनले जनाएको छ।