राष्ट्रपतिले दिइन् भारतीय सेनाप्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाप्रमुख (स्थल सेनाध्यक्ष) मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी (प्रधानसेनापति)को दर्ज्यानी चिन्ह प्रदान गरेकी छन्। नेपाल भ्रमणमा रहेका नरवणेलाई राष्ट्रपति भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन्।
नरवणे तीन दिने नेपाल भ्रमणका लागि भारतीय सेनाको विशेष विमानमा बुधबार काठमाडौं आइपुगेका थिए। त्यसक्रममा राष्ट्रपतिले नेपाली सेनाको महारथीको दर्ज्यानीसँगै खड्ग र प्रमाणपत्रसमेत प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपालले जारी गरेको नयाँ राजनीतिक नक्शाबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा तीब्र बिरोध भएका नरवणेलाई मानार्थ महारथीको दर्जा नदिनुपर्ने आवाजसमेत एकथरीले उठाएका थिए।
नेपाल र भारतका सेनाबीच एक अर्काका सेनाप्रमुखलाई मानार्थ सेनाप्रमुखको दर्ज्यानी दिने परम्परा रहिआएको छ। भारतीय समकक्षीको स्वागतमा प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार बेलुकी सैनिक मुख्यालयमा रात्रिभोज आयोजना गरेका छन्।