नेपालमा मोबाइल प्रयोगकर्ता ३ करोड ६८ लाख, प्राधिकरण भन्छ- ‘सबै सक्रिय छन्’
नेपालमा तीनवटा टेलिकम सेवा प्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमका गरी कुल मोबाइल प्रयोगकर्ता तीन करोड ६८ लाख ६६ हजार २६० छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गएको भदौसम्मको तथ्यांक अनुसार मोबाइल बाहेक फिक्स्ड लाइन टेलिफोनका प्रयोगकर्ता अर्को आठ लाख छन्। नेपाल टेलिकमको फिक्स ल्याण्डलाइनसमेत गरेर कुल तीन करोड ७६ लाख प्रयोगकर्ता रहेको प्राधिकरणले जानकारी दिएको छ।
तथ्यांक अनुसार मोबाइल सीमकार्ड प्रयोगका हिसाबले नेपाल टेलिकमका दुई करोड एक लाख ४९ हजार, एनसेलको एक करोड ५३ लाख ३३ हजार र स्मार्ट टेलिकमको २१ लाख ५९ हजार प्रयोगकर्ता छन्। एउटै व्यक्तिले दुई/तीन वटासम्म सीमकार्ड बोक्ने गरेकोले मोबाइल सीमकार्डका प्रयोगकर्ता नेपालको जनसंख्या भन्दा बढी छन्।
केन्द्रीय तथ्यांक विभागले गरेको सन् २०११ देखि २०३१ सम्मको जनसंख्याको विश्लेषणका आधारमा हाल दुई करोड ९८ हजार ७६ लाख जनसंख्या छ। सोही तथ्यांकको आधारमा हेर्दा हाल नेपालमा जनसंख्या भन्दा ७४ लाख बढी टेलिफोन प्रयोगकर्ता देखिन्छन्।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार सेवाप्रदायकले दिएको तथ्यांक अनुसार सबै प्रयोगकर्ता सक्रिय नै रहेका छन्। यस्ता प्रयोगकर्तामा एक साता, १५ दिन र एक महीनाको सक्रिय सीमकार्डलाई आधार बनाउने गरिएको छ। नियमित प्रयोग गर्ने र ६ महीनाभित्र प्रयोगमा आएका सीमकार्डलाई सक्रिय प्रयोगकर्ता मानिन्छ।
६ महीनादेखि निस्कृय प्रयोगकर्ता भने सम्बन्धित टेलिकम सेवा प्रदायकले नै अनिवार्य रूपमा कटौती गरेर तथ्यांक तयार पार्नुपर्ने प्राधिकरणको भनाइ छ। ६ महीनासम्म प्रयोग नभएका सीमकार्डलाई निस्कृय मानेर नयाँ प्रयोगकर्तालाई उक्त सीमकार्ड दिन सकिने व्यवस्था प्राधिकरणले गरेको छ।
टेलिकमको तथ्यांक अनुसार हाल मोबाइल प्रयोगकर्ताको बजार हिस्सा ९८ प्रतिशत छ। दुई प्रतिशत मात्रै फिक्स्ड टेलिफोनको छ। मोबाइल प्रयोगकर्ता बढ्दै गएका र ल्याण्डलाइन प्रयोगकर्ता घटेका कारण बजार हिस्सामा मोबाइलको पहुँच बलियो भएको हो।
मोबाइलबाटै डाटा प्रयोग गर्नेको संख्या बढी भएकोले ब्रोडव्याण्ड इन्टरनेटमा पनि मोबाइलकै पहुँच ७४ प्रतिशत छ। बाँकी २५ प्रतिशत फिक्स ब्रोडब्याण्डको र एक प्रतिशत हिस्सा ताररहित इन्टरनेटको रहेको पनि प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
मोबाइल प्रयोगकर्तामध्ये पनि एक करोड १२ लाखले थ्रीजी इन्टरनेट प्रयोग गर्ने गरेको छन्। बाँकी ५५ लाख प्रयोगकर्ताले फोरजी डाटा चलाउने गरेको तथ्यांकले देखाउँछ।