बालुवाटार पुगेर दाहालले ओलीलाई सोधे- ‘तपाईंको राजीनामा कसले माग्यो ?’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। बिहीबार दिउँसो ओलीलाई भेट्न बालुवाटार पुगेका दाहालले आफूहरूले ओलीको राजीनामा नमागेको भन्दै आपत्ति जनाएका हुन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाको माग भइरहेको तर, कुनैपनि परिस्थितिमा राजीनामा नदिने बताएका थिए। उनले आफूले राजीनामा दिए देश बर्बाद हुने भन्दै कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए। ओलीले आफू रहरले नभइ जनताको आवश्यकताले प्रधानमन्त्री बनेको समेत उल्लेख गरेका थिए।
ओलीको यो अभिव्यक्ति आएको भोलिपल्टै बालुवाटार पुगेका दाहालले पार्टी कमिटीको बैठकले नै ओलीलाई प्रतिनिधि सभाको पूरै कार्यकाल प्रधानमन्त्री बनाउने निर्णय गरिसकेकाले यस्ता अनावश्यक कुरा सार्वजनिक रूपमा नबोल्न भनेको स्रोतले बतायो।
“कसले माग्यो तपाईंको राजीनामा ? किन यस्ता बेकारका कुरा गर्नुहुन्छ ? पार्टी कमिटीले नै तपाईंलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने भनेर निर्णय गरिसकेको छ। हामीले कहाँ माग्यौँ राजीनामा ?”, दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो।
दाहालले बुधबार नै प्रधानमन्त्री ओलीले आफू पक्षीय प्रदेश–१ का कार्यकर्तासँग भर्चुअल बैठक गरी जनताको बहुदलीय जनवादलाई अगाडि बढाउन निर्देशन दिएको सूचना पाएको भन्दै आपत्ति जनाए।
“यो निकै भत्सर्नाजन्य काम हो। यस्ता काम जसले गरेपनि पनि राम्रो होइन”, भेटमा दाहालले ओलीलाई भने। जवाफमा ओलीले ‘समूहगत भेला तपाईंहरूले पनि गरिरहनु नै भएको छ। मैले गर्दा के बिग्रियो ?’ भनेको स्रोतले बतायो।
भेटमा दाहालले पार्टीभित्रका सबै समस्या समाधानका लागि सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठक बस्नुपर्ने माग गरे।
“उहाँले (दाहालले) पार्टीभित्रका सबै समस्या समाधानका लागि कमिटीका बैठक बोआलौँ, त्यहीँ छलफल गरेर निकास खोजौँ भन्नुभयो”, दाहालनिकट स्रोतले भन्यो, “तर, प्रधानमन्त्री यसमा ‘कन्भिन्स’ हुनुभएको छैन। बैठकका विषयमा उहाँले चासो नै देखाउनुभएन।”