कहाँ छन् समालोचक ? कहाँ छ समालोचना ?
लाग्छ– विश्वविद्यालय बौद्धिक जमात होइन, विभिन्न पार्टीहरूप्रति बफादार कार्यकर्ता उत्पादन गर्दैछ ! प्राध्यापकलाई जागिर पकाउनु छ, विद्यार्थीलाई नम्बर फकाउनु छ। नतिजा, नेपाली साहित्यको मौलिक चिन्तनको स्तर निरन्तर ओरालो लाग्दो छ।
चिन्ता सर्वव्यापक छ– नाटक लेखनमा सन्नाटा छाएको छ। कविता पाठकले पढ्नै छाडे। कथा सङ्कटमा छ। निबन्ध घिडघिडो अवस्थामा छ। आत्मकथाका नाममा ‘झुटका पुलिन्दा’ प्रकाशित भइरहेका छन्। उपन्यासको बाढी छ, कुन पढ्ने र कुन छाड्ने खुट्याउन मुश्किल परेको छ !
अनि समालोचना? किन समालोचनाको अवस्थाबारे हामी केही बोल्दैनौं ! के यो चिन्ताको विषय होइन? समालोचना मृतप्रायः भएको वर्षाैं भइसकेको छ।
नहुँदो हो त, खोइ कहाँ छन् समालोचक? समालोचना?
कुनै समय समालोचना लेख्ने ठेक्का त्रिभुवन विश्व–विद्यालयका प्राध्यापक (विशेषगरी नेपाली र केही अङ्ग्रेजी विषयका प्राध्यापक)हरूले लिएका थिए। अचेल अधिकांश प्राध्यापकहरू राजनीतिक नियुक्ति पाउन पार्टी प्रवेश र दौडधुपमा व्यस्त छन्। त्रिविका विभिन्न पद, नेपाल प्रज्ञा–प्रतिष्ठान र अन्य केही संस्थामा तिनका निम्ति पद आरक्षित छन्। ती पदहरूमा पुग्न प्राध्यापकहरू पार्टी सदस्यता लिने र नेताविशेषका पक्षमा बोल्ने काममा व्यस्त हुन पुगेका छन्। त्यसैले अब त्रिविका प्राध्यापकबाट समालोचना लेखिनै छाडेको छ, स्तरको प्रश्न त परकै कुरा भयो।
पर्व र पर्म समालोचना
यदाकदा लेख्नै परे प्राध्यापकहरू पर्वे समालोचना लेख्छन्। लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, भूपि शेरचन, पारिजातलगायतका स्रष्टाको जन्मजयन्ती आदिमा तिनले यसो सम्झनारुपी समालोचना लेखेको देखिन्छ। यस्ता समालोचनामा नयाँ कुरा भने केही पनि हुँदैनन्।
समालोचना लेख्ने अधिकांश प्राध्यापक मौलिक लेखनमा पनि छन्। तिनले जतिसुकै कमजोर साहित्य लेखे पनि अर्का प्राध्यापक–समालोचकले ‘महान्’को बिल्ला लगाइदिइहाल्छ ! किनकि, उसलाई आफ्नो पुस्तकमा पनि त्यस्तै समालोचना लेखाउनु जो छ। पर्म तिर्नु छ–पर्म लगाउनु छ !
पर्म समालोचना त्रिविमा मात्र सीमित छैन। बेलाबखत समालोचना लेख्ने लेखकले आफ्ना मित्र वा कोटरी र विचारभित्रको सर्जकले जेसुकै लेखे पनि अब्बल भनिदिइहाल्छ।
‘पर्म समालोचना’ पछिल्लो समय नेपाली साहित्यको रोगका रूपमा विकसित भएको छ। यस्तो संस्कृति समग्र नेपाली साहित्यका निम्ति हानिकारक छ।
समालोचनामा विगत केही वर्षदेखि बाक्लै सुनिंदै आएको शब्द हो ‘सिन्डिकेट’। समालोचनामा सिन्डिकेट जसरी देखिएको छ, उसैगरी प्रकाशनमा समेत मौलाएको छ। विशेषगरी मिडियामा रचना प्रकाशनको सवालमा सिन्डिकेट बलियो ढंगमा स्थापित भएको देखिन्छ। यसले नयाँ तथा प्रतिभाशाली लेखक पाखा लाग्न पुगेका छन्। कतिपय स्वाभिमानी लेखक निराश भएका छन्। यस्तो सिन्डिकेट मित्रगत मात्र होइन, दलगत, क्षेत्रगत, जातगत, लिङ्गगत हुँदै गएको छ।
त्रिविमा स्नातकोत्तर वा त्यसभन्दा माथिल्लो तहमा विद्यार्थीलाई शोध गर्न लगाइन्छ। त्यस्ता शोधमा आफ्नो समयमा स्तरीय साहित्य लेखेर नेपाली भाषा–साहित्यलाई अनुकरणीय योगदान गरेका लेखकका बारेमा लेख्न लगाउने जमर्को समेत त्रिविका प्राध्यापकबाट नहुनु खेदजनक छ। अधिकांश शोध ‘कपी–पेस्ट’को शिकार भएका छन् ! कतिपय शोधमाथि त ‘प्लेजरिज्म’ को आरोपसमेत लाग्दै आएको छ। जब विद्यार्थीलाई बाटो देखाउने प्राध्यापक वा त्रिविका उच्च पदमा आसीन व्यक्ति अर्काको शोध आफ्नो नाममा दर्ता गराउन उद्यत हुन्छन् भने तिनले दीक्षित गरेका विद्यार्थी कस्ता होलान् !
पछिल्लो समय साहित्यमा केही सम्भावनाशील लेखकहरूको प्रवेश भएको छ। रचनात्मकता, प्रयोग, विषय विविधतालगायत विषयमा केही राम्रा काम भएका छन्। साहित्यका असल पाठकहरूमा कसले राम्रो लेखिरहेको छ भन्ने तीव्र जिज्ञासा छ। तर यसको पहिचान उचित तवरमा हुनसकिरहेको छैन।
कारण, साहित्यको स्तर मापन गर्ने समालोचना विधाले नै बाटो बिराएको छ। असल साहित्यको पहिचानको दायित्व समालोचकको हो। तर, पहिचानकर्ता समालोचक हराएको लामो समय भइसक्यो।
नेपाली समालोचनाको देखाउन लायक अनुहार केही दशकअघि बनेको थियो, जसमा यदुनाथ खनाल, रामकृष्ण शर्मा, ईश्वर बराल, गोविन्द भट्टलगायतले ठूलो योगदान गरेका थिए। तिनका समालोचना पढ्दा छुट्टै रचना पढेको अनुभूति हुन्थ्यो।
त्यसपछिको पुस्तामा तारानाथ शर्मा, मोहनराज शर्मा, दयाराम श्रेष्ठ, वासुदेव त्रिपाठी, अभि सुवेदी, निनु चापागाईं, ऋषिराज बराल, हरि अधिकारी, गोविन्दराज भट्टराईलगायतले यो विधा समृद्ध बनाउने प्रयत्न गरेका हुन्। तर तीमध्ये अधिकांशले अचेल विरलै समालोचना गर्छन्, गर्नैपरे पनि उनीहरूको लेखाइमा पहिलेजस्तो दम देखिन्न। केहीले त समालोचनालाई ‘साँझको रमझम’ वा ‘खामबन्दी’मा आधारित ‘धन्दा’ बनाएर यो गम्भीर विधाको मानमर्दन नै गरिदिएका छन्।
अघि नै भनियो, प्राज्ञिक समालोचक तयार पार्ने विश्वविद्यालय आफैं राजनीतिक नियुक्तिको अखडा भएको छ। राजनीतिबाट परै बसेकाहरू योग्य केही कोपभाजनमा परेका छन्। लाग्छ– विश्वविद्यालय बौद्धिक जमात होइन, विभिन्न पार्टीहरूप्रति बफादार कार्यकर्ता उत्पादन गर्दैछ ! प्राध्यापकलाई जागिर पकाउनु छ, विद्यार्थीलाई नम्बर फकाउनु छ। नतिजा, नेपाली साहित्यको मौलिक चिन्तनको स्तर निरन्तर ओरालो लाग्दो छ।
समालोचना केवल साहित्यको पुस्तक र लेखकमा मात्र सीमित छैन, यसले साहित्यको सिद्धान्त र विचार निर्माणमा पनि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्छ। मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बाटो पक्रिएपछि साहित्यमा राजनीतिक विमर्श केही भएका छन्। महिला, दलित, किनारीकृत वा सबाल्टर्नका विषयमा ठूल्ठूला कार्यक्रम भएका छन्, मञ्चमा कडा र क्रान्तिकारी भाषण गरिएका छन्। तर त्यसको लिखित रूप भने देख्न पाइएको छैन।
महिला हक–अधिकारका कुरा आइरहेका छन्, तर साहित्यमा महिला उपस्थिति र समालोचनामा महिला कलम त झनै न्यून छ। सुधा त्रिपाठी, ज्ञानु पाण्डे, अर्चना थापा, कुमारी लामाहरूबाट साहित्यले नियमित समालोचनाको अपेक्षा गरेको हो। तर, उनीहरू कतै अलमलिएका छन्।
समालोचना गर्नु सत्य बोल्नु हो। सत्य बोल्ने काम असहज मात्र होइन, चुनौतीपूर्ण पनि छ। सत्य विशेषगरी सत्तालाई मन पर्दैन, अनि त्यसलाई पचाउन हाम्रो समाज गाह्रो मान्छ। सत्ता राजनीतिमा मात्र होइन, साहित्यमा पनि हुन्छ। विश्वविख्यात लेखक जर्ज अरवेलले भनेका थिए– छलकपट व्याप्त समयमा सत्य बोल्नु एउटा क्रान्तिकारी कार्य हो। सत्यमा अडेर समालोचना लेख्नु पनि ‘क्रान्तिकारी’ काम नै हो।
नेपाली साहित्यमा समालोचना लेखेर सत्य बोल्ने हिम्मत उनै यदुनाथ खनाल र रामकृष्ण शर्माले गरेका थिए। त्यो सत्य लेख्न खनाललाई सजिलो पटक्कै भएको थिएन। शर्माले कविता संग्रह ‘सूक्तिसिन्धु’बारे लेखेको समालोचना निकै विवादमा परेको थियो।
निरङ्कुश राणातन्त्रलाई खुशी पार्न लेखिएको सूक्तिसिन्धु कसरी महान् हुन सक्ला र ! उसै पनि शासकका गाथा असल पाठकका निम्ति ग्राह्य कदापि हुन सक्दैन। शर्माले सत्य लेखेका कारण विवादमा मुछिए। सोही प्रसङ्गलाई लिएर उनले भनेका थिए– मैले समीक्षा लेखनमा प्रवेश मात्र के गरेथें, बारुलाको गोलो ममाथि खनियो।
चाहे अरवेलले बोलेको सत्य होस् वा शर्माले, त्यो तहको समालोचकीय सत्यको अपेक्षा समाजले गरिरहेको हुन्छ।
बेलायती कवि जोन किट्स जम्माजम्मी २५ वर्ष मात्र यो धरतीमा उभिए। किट्सको निधन समालोचककै कारण भएको अनुमान गर्नेहरू पनि थुप्रै छन्। यो प्रकरणले समालोचकको जिम्मेवारी र दायित्वबोधको महत्ता दर्शाउँछ।
प्रसिद्ध लेखक, विश्वसनीय समालोचना
कतिपय विश्व प्रसिद्ध लेखकहरूले मौलिक लेखनीका साथै आफ्नो छेवैमा समालोचनालाई पनि राखेको देखिन्छ। टीएस इलियट, एड्गर एलेन पो, ज्याँ पल सात्र्र जस्ता ख्यातिप्राप्त लेखकले समालोचना लेखनलाई पनि आफ्नो जिम्मेवारी ठाने। यिनले समालोचना लेखनलाई एउटा छुट्टै उँचाइ दिए, विश्वसनीय र पठनीय समेत बनाए।
छिमेकी भारतमै पनि मुक्तिबोध, नामवर सिंह, विष्णु खरे, सीताकान्त महापात्र, अशोक वाजपेयी, निर्मल बर्मालगायतले समालोचना लेखनलाई कहिल्यै टाढा राखेनन्। यी यस्ता नाम हुन्, जसको मौलिक लेखनीले पनि सिङ्गो मुलुकको नाम चम्काएका छन्।
अर्को छिमेकी चीनका प्रख्यात लेखक लु सुनले त समालोचनालाई समानान्तर ढङ्गमै अघि बढाए। उनका रचनाले जसरी साहित्य पारखीलाई तृप्त बनाएको छ, समालोचनाले पनि पाठकलाई उसैगरी रत्याएको छ।
नेपाली साहित्यमा आफ्नो बेग्लै पहिचान बनाउन सफल केही लेखकले बेलाबखत समालोचना लेखेको देखिन्छ। तर त्यो अनियतकालीन छ। भाउपन्थी, खगेन्द्र सङ्ग्रौला, वानिरा गिरि, सञ्जीव उप्रेती, श्यामल, नयनराज पाण्डे, शार्दूल भट्टराई, पुरुषोत्तम सुवेदी, विप्लव ढकाल, राम लोहनी, शेखर खरेल, राजकुमार बानियाँलगायतले कहिलेकाहीं समालोचना लेखेको देखिन्छ। यी लेखकले मौलिक लेखनीलाई कायम राख्दै बेलाबखत समालोचना पनि लेख्ने हो भने अवश्य त्यो रुचिकर हुने विश्वास गर्न सकिन्छ।
समालोचनाले सही बाटो बिराउनुमा पत्रपत्रिकामा साहित्य पृष्ठ संयोजकको जिम्मेवारीमा रहेका कतिपय पत्रकारहरू पनि कम आलोचित छैनन्। त्यो वर्गका अधिकांश समालोचना कि कसैलाई खुशी बनाउन र उचाल्न लेखिएका छन्, कि कसैलाई खुइल्याउन ! यस्तो परिपाटीले समालोचनाप्रतिको विश्वास नै धर्मराउन पुगेको छ।
सत्य बोल्ने जिम्मेवारी पाएको जमात वर्षौंदेखि चुपचाप बस्नु वा असत्य बोल्न उद्यत हुनुले समाजलाई गलत बाटोतिर लैजान्छ, समाजमा दुश्चिन्ता पैदा गरिदिन्छ। यस्तो दुश्चिन्तालाई दूर गर्न सञ्चारमाध्यमले पनि उदार चित्तले पहल गर्नुपर्छ।
यो समयका केही राम्रा लेखकका राम्रा कृतिबारे समेत आवश्यक समालोचना नआउनु विडम्बना नै मान्नुपर्छ। नयनराज पाण्डेको ‘उलार’, नारायण वाग्लेको ‘पल्पसा क्याफे’, अमर न्यौपानेको ‘सेतो धरती’, बुद्धिसागरको ‘कर्णाली ब्लूज’, सरस्वती प्रतीक्षाको ‘नथिया’, राजन मुकारुङको ‘दमिनी भीर’ लगायतका पुस्तकमाथि खोइ त समालोचना लेखिएको? खोइ यी कृतिका गुण–दोष केलाउने काम भएको? खोइ पाठकलाई यी कृतिबारे स्पष्ट धारणा बनाउन समालोचनाले मद्दत गरेको?
कुनै कालखण्डमा आएका स्तरीय कृतिबारे गम्भीर समालोचना नआउनाले कृतिकारमाथि अन्याय त हुन्छ नै, साहित्यको इतिहासमा एउटा नपुरिने खाडल पनि बन्न पुग्छ। तर, यहाँ यो कुरा बुझ्ने कसले? चिन्ता गर्ने कसले?
यसका लागि थोरै सही, ठूला आकारका दैनिक पत्रिका, म्यागजिन, अनलाइन जस्ता माध्यमले पुस्तक समालोचनालाई विशेष स्थान दिनु जरूरी छ। समालोचकलाई आकर्षित गर्न सञ्चारमाध्यमले पारिश्रमिकलगायतका कुरामा विशेष ध्यान दिनु आवश्यक छ। र, समालोचकले पनि सञ्चारमाध्यमले उपलब्ध गराएको स्थानको उपयोग गर्दै सत्य लेख्ने साहस गर्नुपर्छ।
अहिलेका लागि यो एउटै कुराले पनि समालोचनामा सास फुक्न सक्छ।