ओली-दाहालबीच बालुवाटारमा छलफल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको हो।
दुई नेताबीच पार्टीभित्र देखिएको अन्तरविरोधका विषयमा छलफल भएको बुझिएको छ। समसामयिक विषयमा दुई अध्यक्षबीच छलफल भएपनि ठोस कुरा के भयो भन्ने आइनसकेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले बताए।
कर्णाली प्रदेश सरकारमा देखिएको समस्या, संघीय मन्त्रिपरिषद पुनर्गठन, पर्सामा भएको नेकपा नेताको हत्या, रअ प्रमुखसँग प्रधामन्त्रीको भेट लगायतका विषयमा दुई अध्यक्षबीच दूरी बढिरहेको छ।
उनीहरूबीच पछिल्लो पाँच दिनयता भेटघाट भएको थिएन।
दुई अध्यक्षबीच बुधबार भेट हुने भनिएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण दाहाल बालुवाटार गएका थिएनन्। बिहीबार बालुवाटार जानुअघि दाहालले बिहान नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए।
बुधबार काठमाडौंमा भएको एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देश बर्बाद हुने भन्दै कुनै हालतमा राजीनामा नदिने बताएका थिए। उनले पार्टीभित्रैबाट आफूलाई असहयोग भएको पनि बताएका थिए।
यसअघिको भेटमा ओलीले अलग–अलग भएर जाऔं भन्ने प्रस्ताव गरेको दाहालले आफ्नो खेमाका नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए।