मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फूटबल टोली बंगलादेश प्रस्थान
बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फूटबल टोली बिहीबार बिहान हिमालयन एयरलाइन्समार्फत ढाका प्रस्थान गरेको छ। नेपाली टोलीले त्यहाँ एक साता बिताएपछि मात्र खेल हुनेछन्।
नेपाली टोलीमा २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्य छन्। नेपाल र बंगलादेशबीच २८ कात्तिकमा पहिलो र २ मंसीरमा दोस्रो खेल हुनेछ। नेपाली टोलीको कप्तानको जिम्मेवारी गोलकिपर किरण चेम्जोङलाई दिइएको छ। राष्ट्रिय टोलीमा आठ नयाँ अनुहार छन्।
बंगलादेश जाने अघिल्लो दिन बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा रोहित चन्दलाई राखिएको छैन। अभ्यासको क्रममा चोट लागेपछि उनी टोलीमा नपरेका हुन्। यस्तै अन्य सात खेलाडीमा कोरोना संक्रमण देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ। उनीहरु आइसोलेसनमा छन्।
पहिलोपटक टीममा स्थान बनाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र छिरिङ गुरुङ छन्। कोरोना महामारीका कारण नेपाली फूटबल टीम लामो समयपछि मैदानमा फर्किन लागेको हो।
मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाइ कार्यक्रमपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाइ थप फलदायी हुने अपेक्षा व्यक्त गरे। कोरोनाको महामारीपछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए।