कैलालीमा खाद्य व्यवस्था कम्पनीले बल्ल किन्न थाल्यो किसानको धान
खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले सरकारबाट तोकिएको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरीद शुरु गरेको छ।
कम्पनीले टीकापुरमा रहेको आफ्नै गोदाममा काँटा सञ्चालन गरी सोमबारदेखि धान खरीद शुरु गरेको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको संयोजकमा स्थानीय प्राथमिक खरीद समितिको बैठकबाट निर्णय अनुसार किसानको धान खरीद कार्य शुरु गरिएको हो।
कम्पनीले यो वर्ष ६५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य राखेको छ। गएको वर्ष ५० हजार क्विन्टल धान खरीद गरेको थियो।
सरकारले यस वर्ष मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल रु.२७३५ तोकेको थियो। तर, सरकारले धान खरीदमा ढिलाइ गरेपछि स्थानीय किसानले व्यापारीलाई प्रतिक्विन्टल १९५० देखि २१०० सम्मै बिक्री गर्दै आएका छन्।
सरकारले समयमै जानकारी नदिंदा बिचौलिया र व्यापारीलाई सस्तोमा धान बेच्नुपरेको भजनी नगरपालिकाका किसान रामकृष्ण चौधरीले बताए। "सरकारले क्विन्टलको २७३५ तोकेर मात्र के गर्नु, किसानले पाउने त व्यापारीले तोकेको मूल्य हो", उनले भने, "गाउँमा कुनै पनि गल्लाले क्विन्टलको २०५० रुपैयाँ भन्दा बढी दिन मानेन।"
यस वर्ष बाढीले धान नष्ट गर्दा उत्पादन आधा घटेको र त्यसमा पनि उचित मूल्य नपाएको उनले गुनासो गरे।
धान भण्डारणको समस्या तथा धान बिक्री गरेर बीउ, मल किन्नुपर्ने बाध्यताले अधिकांश किसानले चाँडै व्यापारीलाई बिक्री गर्ने गर्छन्।
असोजको अन्तिमतिर धान खरीदका लागि मूल्य निर्धारण भए पनि परिपत्र र जिल्लामा निर्णय नहुँदा खरीद प्रक्रियामा ढिलाइ भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बताएको छ।