कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ। अनौपचारिक भनिएको बैठकमा केही वरिष्ठ केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ।
शुक्रबारदेखि केन्द्रीय कार्यसमितिको बैठक भएकाले त्यस अगाडि छलफलका लागि बैठक बस्न लागेको हो। बैठक सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्न लागेको हो।
बैठकमा विशेष गरी वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जनाले पार्टी सञ्चालनबारे विरोध प्रकट गरेको विषयमा छलफल हुने कोषाध्यक्ष सीतादेवी यादवले जानकारी दिइन्।
यादवले भनिन्, “भोलिदेखि केन्द्रीय समिति बैठक भएकाले पदाधिकारी बैठक बस्न लागेको हो। बैठकमा हामी २७ जनाले उठाएको विषयमा पनि छलफल हुनेछ।”
१२ असोजमा २७ जना नेताले सभापतिको एकलौटी कार्यशैली हटाएर पार्टीलाई विधानसम्मत चलाउनुपर्ने लगायत विषयमा पार्टी मुख्यसचिव मार्फत केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरेका थिए।