प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता
प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता शुरु भएको छ। थापाकै औपचारिक निमन्त्रणामा नरवणे नेपालको तीन दिने भ्रमणमा आएका हुन्।
त्यसअघि सेनाध्यक्ष नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको थियो। सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सैनिक टुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे।
सेनाध्यक्ष नरवणेले आजै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपे। त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरु भएको हो।
दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदान सम्बन्धि तेह्रौं बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।