कोभिड हुने पछिल्लो राष्ट्रप्रमुख अल्जेरियाका राष्ट्रपति
अल्जेरियाका राष्ट्रपति अब्देलमाज्जिद टेब्बोनलाई गत महीना जर्मनीमा अस्पताल भर्ना गरिनुको कारण कोरोनाभाइरस संक्रमण भएको उनीसँग सम्बन्धित कार्यालयले बुधबार जनाएको छ।
अफ्रिकी मुलुक अल्जेरियाका ७४ वर्षीय राष्ट्रपति टेब्बोनको स्वास्थ्य अहिले सुधारोन्मुख छ। उनी २८ अक्टोबरमा जर्मनीको अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्।
त्यति वेला उनको रोग खुलाइएको थिएन। विशेष संरचनामा हेरचाह भइरहेको मात्र जनाइएको थियो। बुधबार मात्र उनको कार्यालयले कोरोनाभाइरस संक्रमण भएको खुलाएको हो।
कोरोना संक्रमण हुने उनी एक्ला राष्ट्र÷सरकार प्रमुख होइनन्। गत महिना कोरोना संक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल नै भर्ना भएका थिए। ब्राजिलका राष्ट्रपति जायरा बोल्सोनारोलाई पनि कोरोना संक्रमण भएको थियो।
गएको अप्रिलमा संक्रमित भएर अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई भेन्टिलेटरमा नै राख्नुपरेको थियो। उता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस अधनोम घेब्रेयेसस यति वेला संक्रमितको सम्पर्कमा आएका कारण आइसोलेसनमा छन्।
गत मार्चयता संक्रमण भएका विश्वका धेरै राष्ट्रप्रमुख, प्रधानमन्त्री, मन्त्री संक्रमित भएका छन्। होन्डुरसका राष्ट्रपति हुँआ ओर्लान्डो हर्नान्डेज, बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, मोनाकोका राजा अल्बर्ट द्वितीय, ग्वाटेमालाका राष्ट्रपति अलेक्जेन्ड्रो गिम्माट्टेई संक्रमित भइसकेका छन्।
त्यसैगरी बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज, डोमिनिकन रिपब्लिकका नवनिर्वाचित राष्ट्रपति लुइ अबिनादेर, इरानका मुख्य उपराष्ट्रपति इशाक जाहान्गिरी तथा उपराष्ट्रपति मासौमेह पनि संक्रमित भएका छन्। भारतका उपराष्ट्रपति वेन्कैया नायडु, गृहमन्त्री अमित शाह संक्रमित भएका थिए। त्यहाँका सहायक रेल मन्त्री सुरेश अन्गाडीको त निधन नै भयो।
इजरायलका तत्कालिन स्वास्थ्य मन्त्री याकोभ लिज्मन र जेरूसेलम मामिला मन्त्री रफी पेरेज, दक्षिण अफ्रिकाका प्रतिरक्षा मन्त्री नोसिभिवे मापिसा(क्वाकुला, ऊर्जा मन्त्री ग्वेदे मान्ताशे, र श्रम मन्त्री थुलास झेसी, दक्षिण सुडानका उपराष्ट्रपति रिक माचार, गाम्बियाका उपराष्ट्रपति इसातौ तौरे, र उनका वित्त, ऊर्जा तथा कृषि मन्त्रीहरू र गिनी बिसौका प्रधानमन्त्री नुनो गोमेस नाबियम पनि संक्रमित भएका छन्।