दिल्लीले आईपीएलको फाइनल पुगेर रच्ला इतिहास ?
इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी १३औँ सिजनको फाइनलमा स्थान पक्का गर्न आज साँझ मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स प्रतिश्पर्धा गर्दैछन्। दिल्ली अहिलेसम्म आईपीएलको फाइनल पुग्न सकेको छैन भने मुम्बई ‘डिफेन्डिङ च्याम्पियन’ मात्र नभइ चारपटक फाइनल खेलिसकेको टीम पनि हो।
दिल्ली पहिलो सिजन ‘इलिमिनेटर’सम्म पुगेको थियो। दोस्रो सिजन तेस्रो भएको थियो। त्यस्तै २०१२ र २०१९ को सिजनमा पनि तेस्रो भएको थियो। गत वर्ष पहिलो प्लेअफमा सनराइजर्स हैदराबादलाई दुई विकेटले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको थियो। तर, चेन्नाई सुपर किङ्ससँग ६ विकेटले पराजित भएपछि तेस्रो स्थानमा नै सीमित भएको थियो।
दिल्ली यो सिजन युवा ब्याट्स्म्यान र भेट्रान स्पिनरमा भर परेको छ। उसको बलिङ आक्रमण निकै राम्रो छ। भारतको राष्ट्रिय टोलीका भेट्रान रविचन्द्र आश्विन र अक्षर पटेलले स्पिन आक्रमण सम्हालेका छन्।
यसअघि अमित मिश्रा घाइते भएर टीम छाडेपछि उनको ठाउँमा प्रविण दुबेलाई ल्याइएको छ। नेपाली युवा स्पिनर सन्दीप लामिछाने पनि टीममा छन्। तर, उनले अहिलेसम्म मौका पाएका छैनन्। दिल्लीको टीम सेट भइसकेको कारण उनले मौका पाउने संभावना कमै छ।
तीव्र गतिका बलरमा भने दिल्ली दुई विदेशी खेलाडीमा भर परेको छ। कागिसो राबाडा र एनरिक नोत्र्जेले दिल्लीका लागि यो सिजन गतिलो प्रदर्शन गरिरहेका छन्।
तर, तेस्रो तीव्र गतिका बलर भारतीय खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेका छैनन्। इशान्त शर्मा र मोहित शर्मा जस्ता भारतीय राष्ट्रिय टीमबाट खेलिसकेका खेलाडीले मौका पाए पनि प्रभाव देखाउन सकेनन्। अर्का भारतीय मध्यम गतिका बलर आभेस खानले पनि मौका पाउँदा गतिलो प्रदर्शन गर्न सकेनन्।
युवा खेलाडीलाई समावेश गरिएको दिल्लीको ब्याटिङ लाइन–अप यो वर्ष राम्रै चलेको छ। ओपनिङमा युवा खेलाडी पृथ्वी श र भेट्रान शिखर धवनको जोडी जमेको छ। अजिन्क्या रहाणेको प्रदर्शन मध्यम छ। कप्तान श्रेयस ऐयर, रिशव पन्त र विदेशी खेलाडी मार्कस स्टोइनिसले राम्रो खेलिरहेका छन्।
यता मुम्बईको टीम पनि निकै सन्तुलित छ। मुम्बईले पहिलो खेल हारबाट शुरु गरेको थियो। अघिल्लो सिजनको उपविजेता तथा तीनपटकको च्याम्पियन चेन्नाईसँगको हारपछि मुम्बई बलियो रुपमा प्रस्तुत भयो।
मुम्बई १८ अंकसहित पहिलो स्थान ओगट्दै क्वालिफायरमा पुगिसकेपछि अन्तिम खेलमा भने सनराइजर्स हैदराबादसँग १० विकेटको हार सामना गर्नुप¥यो। तर, मुम्बईलाई यो सिजनको आईपीएल दाबेदार मानिएको छ।
मुम्बईका लागि ब्याटिङमा कप्तान रोहित शर्मा, सूर्यकुमार यादव, क्विन्टन डि कोक, इशान किशान र किरोन पोलार्डले गतिलो प्रदर्शन गरिरहेका छन्। बलिङमा जेम्स बोन्ड, जसप्रित बुमराह, हार्दिक पान्ड्या जस्ता खेलाडी छन्। आफ्नो प्रभाव देखाइरहेको मुम्बईलाई राक्न दिल्लीलाई सजिलो छैन।