भैरव पुरस्कार रामकुमार पाँडे र राजाराम पौडेललाई
साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार क्रमशः राम कुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ।
यी पुरस्कार हाँस्यव्यङ्ग्यको क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई हरेक दुई वर्षमा प्रदान गरिन्छ। रामकुमार पाँडे चर्चित व्यङ्ग्यकार हुन्। उनको पहिलो हास्यव्यङ्ग्य निबन्ध ‘म आग्लो भएँ’ २०१८ सालमा प्रकाशित भएको थियो। प्राध्यापन पेशामा संलग्न पाँडेका ‘सञ्चै छ?’, ‘खप्पर’, ‘रसरङ्गी’, ‘तालबेताल’, ‘१०१ हास्यव्यङ्ग्य’ लगायत कृति प्रकाशित छन्।
भैरव प्रतिभा पुरस्कार पाउने राजाराम पौडेल चर्चित कलाकार हुन्। विभिन्न नेपाली चलचित्र तथा टेलिश्रृङ्खलामा उनले अभिनय गरेका छन्।
भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमशः रु.१ लाख र ५० हजार छ। साहित्यकार विजय चालिसे संयोजक तथा समालोचक प्रा.डा. खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको समितिले उनीहरुलाई पुरस्कारका लागि छनौट गरेको हो।
हाल कोभिड–१९ संक्रमणको जोखिम रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने भैरव पुरस्कार गुठीले जनाएको छ। दुवै पुरस्कार २०४६ सालदेखि प्रत्येक दुई वर्षमा प्रदान गरिँदै आएकोमा आगामी वर्षबाट वर्षेनी वितरण गरिने गुठीले जनाएको छ।