कोरोना उपचारमा प्रयोग हुने फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल शुरू
नेपाली औषधी उत्पादक कम्पनि देउराली जनताले उत्पादन गरेको कोरोना उपचारमा प्रयोग हुने औषधी 'फाभिरपिराभिर' को तेस्रो चरणको क्लिनिकल ट्रायल शुरु भएको छ। काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत बिरामीको सहमतिमा यो औषधीको तेस्रो चरणको क्लिनिकल ट्रायल शुरु भएको हो।
कोरोना संक्रमित बिरामीको सहमतिमा औषधी चलाउन थालिएको स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले हिमालखबरलाई बताए। मुलुकमा पहिलोपटक कोरोना संक्रमित बिरामीको उपचारमा उपयोगी ठानिएको यो औषधीको परिषद्मार्फत तेस्रो चरणको क्लिनिक ट्रायल शुरु भएको हो।
नेपाली औषधी उत्पादक कम्पनी देउराली जनताले फाभिरपिराभिर औषधी ट्रायल गर्ने प्रयोजनका लागि पहिलो पटक मुलुकभित्रै उत्पादन गरेको हो।
यो औषधीमार्फत परिषद्ले काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल, ग्रान्डी अस्पताल, त्रिवि शिक्षण अस्पताल र बाँसबारीस्थित गंगालाल अस्पतालमार्फत पहिलो पटक कम्तीमा चार सय बिरामीमा ट्रायल गर्दैछ।
ग्रान्डी अस्पतालमा एक हप्ता अघिदेखि कोरोना संक्रमित बिरामीको सहमतिमा औषधी चलाउन थालिएको डा. ज्ञवालीले बताए। ग्रान्डी अस्पतालका एक चिकित्सकका अनुसार बुधवारसम्ममा १० जना भन्दा बढी कोरोना संक्रमितलाई उनीहरुकै सहमतिमा फाभिरपिराभिर औषधी चलाउन थालिएको छ।
ग्रान्डी बाहेक त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगायतका अस्पतालमार्फत पनि ट्रायलको प्रक्रिया शुरु भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ।
परिषद्का अनुसार यो औषधि कोरोनाको सामान्य लक्षण र लक्षण नै नदेखिएका कोरोना संक्रमितलाई उनीहरुको अनुमति र चिकित्सकको निगरानीमा क्लिनिकल ट्रायल भइरहेको छ।
फाभिरपिराभिर कोरोना संक्रमितलाई मुखबाट दिइने एन्टीभाइरल औषधि हो। विश्वका १५ वटा मुलुकमा कोरोना संक्रमित बिरामीलाई विभिन्न अनुसन्धान तथा ट्रायलका क्रममा यो औषधि प्रयोग भइरहेको छ। फाभिरपिराभिर सन् २०१४ देखि जापानबाट भाइरल इन्फ्लुएन्जाका बिरामीलाई प्रयोग गर्न शुरु भएको थियो।
एन्टीभाइरल यो औषधीले शरीरमा कोरोनाको भाइरल लोड घटाई भाइरसको वृद्धिविकास रोकेर छिटै निको हुन सहयोग गर्ने औषधि उत्पादक कम्पनीको दाबी छ।
यो औषधी लक्षण देखिएका सामान्य र मध्यम स्वास्थ्य जोखिम अवस्थाका बिरामीलाई तत्काल चलाउन पाए सिकिस्त भएर अस्पताल भर्ना हुनु नपर्ने चिकित्सकहरु बताउँछन्।