पहिरोमा पुरिएर कालीगण्डकी करिडोरमा कार्यरत पाँच कामदारको मृत्यु
कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार आज साँझ पहिरोमा पुरिएका थिए।
सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेकाे अवस्थामा माथिबाट खसेको सुक्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए। मृत्यु हुनेमा सबै बुलिङटार–४ का २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ।
पहिरोमा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो। पहिरोमा परी दुई जना घाइते भएका छन्। २१ वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर घाइते भएका हुन्।
उनीहरू पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए। उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिए।