काठमाडौंमा भारतीय सेनाप्रमुखको व्यस्तता [तस्वीरहरू]
नेपालको तीन दिने भ्रमणमा आएका भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणे काठमाडौं पुगेको पहिलो दिन यहाँ विभिन्न धार्मिक क्षेत्र घुमघाममा व्यस्त रहे।
भारतीय वायु सेनाको जहाजबाट काठमाडौं आएपछि होटेल सोल्टी पुगेका उनी त्यहाँबाट पत्नी विना र भ्रमण टोलीसहित सबैभन्दा पहिले वसन्तपुर पुगेर कुमारीको दर्शन गरे। कडा सुरक्षा व्यवस्थाबीच नरवाणेलाई त्यहाँबाट पशुपतिनाथ पुर्याइएको थियो।
लिपुलेकसहितको नयाँ नक्सा जारी भएलगत्तै नेपालका विषयमा विवादीत अभिव्यक्ति दिएका नरवाणेको विरोध हुनसक्ने भन्दै उनको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो।
नरवाणेले बिहीबारदेखि औपचारिक भेटघाट थाल्ने छन्। उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीलतनिवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ भने त्यससँगै उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्।