त्रिविका विद्यार्थीले आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दिन पाउने
त्रिभुव विश्वविद्यालयका विद्यार्थीले आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दिन पाउने भएका छन्। त्यसका लागि परीक्षा नियन्त्रण कार्यलय बल्खुले विद्यार्थीलाई अनलाइनमार्फत पायक पर्ने परीक्षा केन्द्र रोज्न भनेको छ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेबसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने स्थानमा रहेको परीक्षा केन्द्र रोज्नुपर्नेछ। त्यहि फर्मको आधारमा विद्यार्थीले परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने शिक्षाध्यक्ष शिवलाल भुषालले बताए।
अहिलेको जटिल परिस्थितिको कारणले विद्यार्थीलाई सहज बनाउन पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको शिक्षाध्यक्ष भुषालले बताए।
कोरोनाको कारण स्थगित भएको परिक्षा मङ्सिर दोस्रो हप्ताबाट गर्ने तयारी गरिरहेको भुषालले बताए। उनले भने, “विद्यार्थीले अनलाइनमार्फत आफूलाई पायक पर्ने परीक्षा केन्द्र रोजिरहेका छन्। अब परीक्षा दिनका लागि अर्को जिल्ला गईराख्नु परेन।”
केही दिनपछि विद्यार्थीले परीक्षा केन्द्र रोजेको आधारमा परीक्षा तालिका सार्वजनिक गर्ने शिक्षाध्यक्षले बताए। परीक्षार्थीले अनलाईन मार्फत प्रवेशपत्र प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था समेत मिलाइएको जानकारी दिए।
कोरोनाको कारणले गत चैतमा हुने त्रिविका सबै परीक्षा स्थगित भएका थिए। अहिले त्रिविले कम विद्यार्थी भएका स्नात्तकोत्तर तहको केहि विषयहरुको परीक्षा भने भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ।
त्रिविको वार्षिक परीक्षा परीक्षा नियन्त्रण कार्यलय (पनिका) र सेमेष्टर परीक्षा डीन कार्यालयले लिने छन् ।