खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन
नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ। कांग्रेसका नेताहरू खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन्।
कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक समेत रहेका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आम नागरिकको समस्या नबुझेको बताए। अभियानलाई समर्थन नै गर्न खुलामञ्च पुगेका महतले महानगरपालिका आफैले राहात पुर्याउनुपर्ने ठाउँमा दाताहरूले सहयोग गरे पनि रोक्न निर्देशन दिने कुरा कदापि स्विकार्य नहुने बताए।
कांग्रेस नेता भिमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताए। संविधानले दिएको नागरिकको अधिकार पनि राज्यले खोसेको उनले बताए।
हण्ड्रेड ग्रुपका संस्थापक अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको बताए। तिहारपछि होटल बुकिङ गरेर भएपनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिवद्धता जनाएको उनले बताए।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज पत्रकार सम्मेलन नै गरेर अन्य ठाउँमा व्यवस्थापन गर्न अग्रह गर्दै आवश्यक सहयोग महानगरले गर्ने बताएका छन्। सक्नेले श्रम गर्नुपर्ने र नसक्नेहरूलाई सबै मिलेर व्यवस्थापन गर्नुपर्ने उनले पत्रकार सम्मेलनमा बताएका थिए।