पाँच हिमाल आरोहण गर्न ५८ आरोहीलाई अनुमति, दुई विदेशी 'भीआईपी' टोली संलग्न
कोरोना महामारीका कारण गएको वसन्त ऋतुमा आरोहण गतिविधि ठप्प रहेपनि शरद ऋतुका लागि भने हालसम्म दुई नेपालीसहित ६ विदेशी टोलीले अनुमति लिएका छन्। यसमा दुई विदेशी 'भीआईपी' टोली पनि संलग्न छन्।
कोरोना महामारीपछि शुरू भएको यो वर्षको पर्वतारोहण सिजनका लागि विभिन्न पाँच वटा हिमाल आरोहण गर्न ५८ जना स्वदेशी तथा विदेशी नागरिकलाई अनुमति दिइएको छ। पर्यटन विभागका प्रवक्ता मीरा आचार्यका अनुसार कोरोना महामारीका कारण यो वर्ष (सन् २०२०) को वसन्त ऋतुको सबै आरोहण रद्द भएको थियो।
महमारीपछि पुनः पर्वतारोहण गतिविधि खुला भएसँगै यो वर्षको शरद ऋतुमा हिमाल आरोहण गर्न १९ कात्तिक (बुधबार)सम्ममा आठ वटा टोलीबाट ५८ जनाले अनुमति लिएको आचार्यले बताइन्।
पर्यटन विभागका अनुसार अमादब्लम (६८१४ मिटर), हिमलुङ (७१२६) मिटर) र मनास्लु (८१६३ मिटर) हिमालको लागि २/२ वटा टोलीले अनुमति लिएका छन्। बरुन्से (७१२९ मिटर) र ग्याल्जेन पीक (६१५१ मिटर) हिमालको लागि एक/एक टोलीले अनुमति लिएका छन्।
आरोहण अनुमति लिनेमा ५१ पुरुष र सात महिला आरोही रहेको विभागले जानकारी दिएको छ। जसमध्ये दुईवटा नेपाली आरोहण दल र बाँकी ६ वटा विदेशी दल रहेका छन्। नेपाली आरोहीले बरुन्से र ग्याल्जेन पीक आरोहण गर्न अनुमति लिएका हुन्।
बाँकी मनास्लु, अमादब्लम र हिमलुङ आरोहणका लागि विदेशी टोलीले अनुमति लिएका छन्। यस्तो आरोहण अनुमतिबाट रू. ३३ लाख ७४८२ राजश्व संकलन भएको छ।
यो वर्ष कोरोना महामारीका कारण पर्वतारोहणको गतिविधि कम भएको र आरोहीको आगमन घटेको भएपनि कतारी र बहराइनका राजकुमारको आरोहणले भने पर्वतारोहणमा सकारात्मक सन्देश प्रवाह भएको छ।
बहराइनका राजकुमारको टोली दुईवटा हिमाल आरोहण गरेर स्वदेश फिर्ता भइसकेको छ भने कतारी राजकुमारको टोली अमादब्लम हिमाल आरोहणमा छ।