पीसीआर नेगेटिभ आएका यात्रु विदेश पुग्नासाथ पोजिटिभ, नेवानिलाई एकपछि अर्को गन्तव्यबाट कारबाही
नेपालमा कोरोना परीक्षण गर्दा आरटी-पीसीआर परीक्षणबाट नेगेटिभ रिपोर्ट आएका यात्रु विदेशी पुग्नासाथ पोजिटिभ देखिन थालेपनि सरकारी वायुसेवा, नेपाल वायुसेवा निगम (नेवानी) कारबाहीमा पर्न थालेको छ। निगमले ७२ घण्टाभित्रको कोरोना परीक्षण नेगेटिभ रिपोर्टलाई मान्यता दिएर उडानमा सहभागी गराउने गरेको छ।
नेपालबाट नेगेटिभ रिपोर्ट लिएर उडेका निगमका यात्रु हङकङ, संयुक्त अरब इमिरेट्स (युएई)को दुबई र जापानको नारितासहितका गन्तव्यमा पुगेपछि हुने परीक्षणमा भने पोजिटिभ आउँदा निगम कारबाहीमा परेको हो।
सरकारले मान्यता दिएका प्रयोगशालामा परीक्षणपछि प्राप्त कोरोना नेगेटिभ रिपोर्ट लिएर यात्रा गरेका यात्रुमा सम्बन्धित गन्तव्यमा पुगेपछि पोजिटिभ देखिँदा निगमलाई हङकङले दुईपटक कारबाहीस्वरूप उडानमै रोक लगाइसकेको छ।
निगमले २ अक्टोबर २०२० मा गरेको हङकङ उडानमा नेपालबाट ७२ घण्टाभित्रको नेगेटिभ रिपोर्ट लिएर गएका पाँच जना यात्रुमा पोजिटिभ रिपोर्ट आएको थियो। सोही रिपोर्टपछि हङकङले निगमलाई दुई साता उडानमै रोक लगायो।
१९ अक्टोरबाट पुनः हङकङ उडान शुरू गरेका यात्रुमध्ये नौ जनामा पोजिटिभ रिपोर्ट आएपनि ४ नोभेम्बरसम्मलाई हङकङ उडानमा प्रतिबन्ध लागेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।
हङकङ बाहेक दुबई र नारिता पुगेका निगमका यात्रुले नेगेटिभ रिपोर्ट लिएर गएका भएपनि सो गन्तव्यमा पुगेपछि भएको परीक्षणमा भने पोजिटिभ देखिएको भन्दै सचेत गराएको श्रेष्ठले जानकारी दिइन्। दुबई पुगेका यात्रुमा पोजिटिभ रिपोर्ट आएको भनिएपनि कति जनामा भन्ने विवरण आएको छैन्।
निगमले २ अक्टोबर २०२० मा गरेको हङकङ उडानमा नेपालबाट ७२ घण्टाभित्रको नेगेटिभ रिपोर्ट लिएर गएका पाँच जना यात्रुमा पोजिटिभ रिपोर्ट आएको थियो। सोही रिपोर्टपछि हङकङले निगमलाई दुई साता उडानमै रोक लगायो।
जापानको नारिता जाने यात्रुमा भने हरेक उडानमै औसतमा दुई देखि १० जनासम्मलाई पोजिटिभ रिपोर्ट आएको जानकारी दिँदै सम्बन्धित देशले सचेत पनि गराएको श्रेष्ठले हिमालखबरलाई बताइन्। निगमले हाल भारत र थाइल्याण्डबाहेका आफ्ना सबै गन्तव्यमा उडान गर्न थालेको छ। निगमले आफ्ना उडानका सबै गन्तव्यमा ७२ घण्टाभित्रको आरटी-पीसीआर रिपोर्टका आधारमा उडान गरिरहेको छ।
सम्बन्धित देशले पीसीआर रिपोर्ट पोजिटिभ भएका यात्रुलाई ल्याएको भन्दै उडानमै रोक लगाउँदा निगमलाई आर्थिक क्षति हुनुका साथै प्रष्ठिामा पनि नकारात्मक असर पुगेको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमले यस्तो रिपोर्टबाट नेपालका स्वास्थ्य प्रयोगशालाहरूको विश्वासनियतामा नै प्रश्न खडा भएको पनि उल्लेख गरेको छ।
नेपालमा सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालाले सजगता अपनाउनुपर्ने पनि भएको छ। साथै निगमले पीसीआरको नमूना दिएपछि विशेष सावधानी अपनाएर सजग हुँदै यात्रा गर्न पनि समग्र यात्रुलाई अनुरोध गरेको छ।
नेगेटिभ रिपोर्ट देखाएर उडान गरेका यात्रु सम्बन्धित देशमा पुगेपछि पुःन परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयमले लिनुपर्ने जानकारीसहित यात्रुलाई सचेतना अपनाउन पनि निगमले अनुरोध गरेको छ।