नसकिँदै पर्वहरू गौरीफन्टाबाट मुग्लान फर्किनेको ताँती [तस्वीरहरू]
कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरूको लामो लाइन देखिन्छ। दशैंअघि यही नाकामा दशैं मनाउनका लागि स्वदेश फर्किनेहरूको चहलपहल थियो। चाडवर्पहरू सबै नसकिँदै फेरि भारत जानेहरूको घुइँचो नाकामा बढ्न थालको छ। तिहार, छठलगायतका पर्वहरू बाँकी छँदै बाध्यताले सुदूरपश्चिमका गाउँगाउँबाट मुग्लान छिर्नेको लर्को लागेको छ।
कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जानेहरुको भीड लाग्ने गरेको छ। चाडपर्व मनाउन स्वदेश आएका मानिसहरू दशैं सकिएलगत्तै फेरि रोजगारीका लागि भारत फर्किएका हुन्। दशैं सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभई बाध्यता भएको उनीहरूले बताएका छन्। देशभित्रै काम नपाउने भएपछि दुई/चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको पनि उनीहरूले बताए।
कोरोना संक्रमणका कारण स्वदेश फर्किएकाहरू पनि फेरि भारत जान बाध्य भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण घर फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएको छ। तर, देशभित्र रोजगारी पाउने अवस्था नै नभएपछि चाडपर्वको बीचमै पनि मानिसहरू रोजगारीका लागि भारत जान बाध्य छन्। देशभित्रै रोजगारीको अवसर नभएकाले चाडपर्वको प्रवाह नगरी काम खोज्न भारत जानुपरेको गुनासो पनि धेरैको छ।
सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र त्रिनगर गौरीफन्टा भएर मात्रै दैनिक हजारौको संख्यामा नागरिकहरू भारत गइरहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार १ कात्तिकदेखि १६ गतेसम्म १२ हजार ७६३ नेपाली भारत प्रवेश गरेका छन्। जसमा २ हजार ४ सय ५० महिला र १ हजार ४ सय ५ बालबालिका पनि छन्।