१३ महीनायता महराका अविराम दुःख
१३ महीनाअघि बलात्कार प्रयासको आरोप लागेर सभामुखको गरिमामय पद र सामाजिक प्रतिष्ठा गुमाएपछि मानसिक पीडामा रहेका सत्तारुढ नेकपाका सांसद कृष्णबहादुर महराले पत्नीवियोगको चोट खेप्नुपरेको छ।
एक वर्षअघि राजनीतिक जीवनमा अवरोह भोगेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पारिवारिक वियोग थपिएको छ। श्रीमती सीता महराको कोरोनाभाइरस संक्रमणबाट १९ कात्तिकमा मृत्यु भएको छ।
महरा दशैं मनाउन पुर्ख्यौली घर रोल्पा गएका थिए। तर, श्रीमती बिरामी भएपछि उनी दशैं लगत्तै दाङ फर्किए। सीतालाई १३ कात्तिकमा दाङस्थित गोरखा अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार देखिएन। त्यसपछि हेलिकप्टरमा काठमाडौं ल्याएर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरियो। त्यहाँ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो। स्वास्थ्य झन् बिग्रिएर भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा उनको बुधबार बिहान निधन भएको हो।
महरा गत वर्षको असोज दोस्रो सातादेखि नै ‘असामान्य’ अवस्थामा गुज्रिंदै आए। त्यसले उनी मात्र होइन, उनको परिवारका सदस्य पनि उत्तिकै तनावमा थिए। महरामाथि १२ असोज २०७६ मा गम्भीर आरोप लाग्यो, बलात्कार प्रयासको। १३ असोजमा सञ्चारमाध्यमहरुमा त्यससम्बन्धी समाचारले व्यापकता पाएसँगै उनका तनाव र पीडाका दिन शुरु भए।
आफ्नै पार्टी नेकपा कार्यकर्ता समेत रहेकी संसद् सचिवालयकी कर्मचारीले महरामाथि बलात्कार प्रयासको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिइन्। शुरुमा बलात्कारको आरोप लगाएकी ती कर्मचारीले जाहेरी दिंदा बलात्कार प्रयास उल्लेख गरेकी थिइन्। आरोप लगाएको एक साताकै बीचमा महरा पक्राउ परे।
चौतर्फी आलोचनापछि नेकपाले सांसद र सभामुख पदबाट राजीनामा दिन भनेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए। त्यसपछि बडादशैंको अष्टमीको दिन, १९ असोज २०७६ को साँझ उनी सभामुख निवासबाटै पक्राउ परे। काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई डिल्लीबजार कारागारमा लगियो।
पक्राउपछिका करीब चार महीना प्रहरी नियन्त्रणमा रहे पनि महरा स्वास्थ्यको कारण देखाउँदै अधिकांश समय प्रहरीको घेरामै नर्भिक अस्पतालमा बसे। अन्ततः काठमाडौं जिल्ला अदालतबाट बलात्कारसम्बन्धी मुद्दामा सफाइ पाएपछि उनी ५ फागुनमा रिहा भए।
थुनामुक्त भए पनि बलात्कार प्रयासको आरोपका कारण सामाजिक प्रतिष्ठा, राजनीतिक साख, सभामुखको सम्माननीय पद गुमेपछि उनी मानसिक तनावबाट मुक्त हुन पाएनन्। सर्वोच्च पदमा रहेकै बेला श्रीमानमाथि लागेको यौनहिंसाको आरोपले श्रीमती सीता पनि त्यत्तिकै तनावमा थिइन्। थपिएको तनावले उनमा भएको पहिलेदेखिको रोगले झन् असर गरेको हुनसक्ने महरा परिवारका निकटस्थहरु बताउँछन्।
एकातिर आफ्नो पद–प्रतिष्ठा गुमेको र अर्कोतिर बिरामी श्रीमतीमा थपिएको मानसिक पीडाका कारण उनले घरपरिवारमै समय दिए। त्यसमा पनि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले पनि उनले जिल्लातिरै बढी समय बिताए। काठमाडौं बसाइलाई कम गर्दै गएका उनी दशैं मनाउन पनि यस पटक पुर्ख्यौली थलो रोल्पा नै पुगेका थिए।
तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महरा तत्कालीन नेकपा एमाले र नेकपा माओवादीको समर्थनमा सभामुख बनेका थिए।
२०४८ सालमै रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका महराको माओवादीमा बेग्लै छवि बनेको थियो। माओवादी शान्ति प्रक्रियामा आउँदा उनले वार्ता टोलीको सदस्यका रुपमा महत्वपूर्ण भूमिका वहन गरे। त्यही भूमिकाका कारण २०६३ सालपछि उनले सरकारमा पटकपटक महत्वपूर्ण जिम्मेवारी पाए।
गत वर्ष भने नैतिक मूल्यमै आक्षेप लागेर उनले फौजदारी अभियोग भोग्नुपर्ने अवस्था आयो। त्यसबाट मुक्त भएर सामान्य जीवनमा फर्किंदै गर्दा विश्वव्यापी कोरोनाभाइरस महामारीले उनलाई पत्नीवियोगको अर्को चोट थपिदिएको छ।
उनकी श्रीमती सीतालाई एक दशकदेखि ‘माइस्थेनिया’ नामक दीर्घरोग लागेको थियो। यही रोगका कारण उनको ६/७ वर्ष अगाडि ठूलो शल्यक्रिया पनि गरिएको थियो।
यस पटक दाङमै हुँदा निमोनिया भएर श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन नै लगाएर हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। शुरुमा आईसीयूमा राखे पनि स्वास्थ्यमा सुधार नआएपछि ६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो।
१३ महीनाका घटना:
१२ असोज साँझ महिला कर्मचारीको कोठामा गएर यौनहिंसा गरेको आरोप
१३ असोजमा सञ्चारमाध्यममा सार्वजनिक
१४ असोजमा सभामुखबाट राजीनामा
१९ असोजमा सभामुख निवासबाट पक्राउ
२३ असोजमा सभामुख पदबाट निलम्बनमा परेको सूचना टाँस
१४ कात्तिकमा जिल्ला अदालतमा मुद्दा दायर
१८ असोजमा पुर्पक्षका लागि जेल चलान
५ फागुनमा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि थुनामुक्त
५ फागुनमै संसद् जाने बाटो खुला
६ फागुनमा संसदलाई जानकारी
१३ कात्तिकमा पत्नी दाङस्थित गोरखा अस्पतालमा भर्ना
१९ कात्तिकमा नर्भिक अस्पतालमा श्रीमतीको निधन।