प्रधानमन्त्री ओली भन्छन्- “म रहरले प्रधानमन्त्री भएको होइन, मैले राजीनामा दिए देश बर्बाद हुन्छ”
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन्। बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनैपनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन्।
पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन्। उनले भने, "मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको बर्बादितिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन। त्यो मैले दोहोर्याएर भनेको छु, फेरी केहीले खोइ त राजीनमा भनेर मागिराखेका छन्। बेकारको कुरा हो भन्ने सोच्छु।"
प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए। कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्न समेत उनले आग्रह गरे।
"म यस ठाउँमा आएको मेरो रहरले होइन, जनताको आवश्यकता र समर्थनले हो। म जालझेल र तिकडमबाट होइन व्यापक जनसमर्थनबाट । यहाँ पुगेको हो। त्यसकारण तपाईहरू ढुक्क भएर काममा लाग्नुस्", उनले भने, "यो सरकार फेर्न धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरू गरे। भित्र, बाहिर अनेक थरिका कोसिसहरू भए। जे मा पनि आलोचना गर्ने। त्यस प्रकारका प्रवृतिहरू छन्, त्यसबाट प्रभावित नहौं", उनले भने।
प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरू देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताए। उनले भने, "अस्थिरताको खेति गरिरहने एकथरीले देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत, एडिक्ट भएका छन।"