खुलामञ्चमा खाना खुवाउन रोक्ने निर्णयबाट हच्कियो महानगर, मेयर शाक्य भन्छन्- ‘व्यवस्थित गरौं’
खुलामञ्चमा खाना खुवाउन रोक्ने निर्णयबाट काठमाडौं महानगरपालिका पछि हटेको छ। बरु यो अभियानलाई तत्काल व्यवस्थित गर्न महानगरले आग्रह गरेको छ।
कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पूरा नगरी खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान जारी रहेको भन्दै व्यवस्थित गर्न महानगरले आग्रह गरेको हो।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बढी भीडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ, असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कामलाई व्यवस्थित गर्न र विकल्प खोज्न आग्रह गरे।
महानगर प्रमुख शाक्यले सरकार जनताप्रति उत्तरदायी रहेको उल्लेख गर्दै स्वास्थ्य जोखिमको समेत ख्याल गरी खाना खुवाउन आग्रह गरे। श्रम गर्न सक्नेहरूले श्रम गरेर र नसक्नेहरूको व्यवस्थापन गर्न महानगरले सहयोग गर्ने उनको दाबी छ। सक्नेहरूले समेत काम नगरी खाने प्रवृति रहेमा भोलि पनि समस्या हुने उनको टिप्पणी छ।
‘‘काम नगरी खाने प्रवृति भयो भने भोलि श्रम गरेर खान भन्दा पनि उनीहरूले गर्दैनन्। बानी बिग्रिन्छ। त्यसैले सक्नेले काम गर भन्ने महानगरको धारणा हो। नसक्नेलाई व्यवस्थापन गर्छौं’’, उनले भने।
एकै ठाउँमा भीडभाड गरेर खाना खुवाउनुभन्दा जो जुन ठाउँमा छ त्यही ठाउँमा खुवाउने व्यवस्था गर्नुपर्ने उनले बताए। महानगरपालिकाले व्यवस्थापनका लागि पार्टी प्यालेस भाडामा लिएर अभियन्ताहरूलाई दिन सक्ने उनले बताए।
बन्दाबन्दी अविधिभर महानगरपालिकाले ३२ वटै वडामार्फत् ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नाराका साथ खाना नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको महानगरले जनाएको छ।
बन्दाबन्दी अवधिमा १ लाख ५० हजार बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने काम गरेको प्रमुख शाक्यको दाबी छ। श्रम गर्न सक्नेहरूलाई वडा कार्यालयहरूबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मतसम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण जस्ता काममा लगाउने गरेको महानगरले जनाएको छ।
एक हप्तामा कम्तिमा २ दिन तोकिएको पारिश्रमिक दिएर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी पनि सिर्जना गर्ने काम गरेको प्रमुख शाक्यको भनाइ छ।