भारतीय सेनाप्रमुख नरवणे आइपुगे
भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विशेष विमानबाट उनी काठमाडौं आएका हुन्।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा आएका भारतीय सेनाप्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी प्रभुराम शर्माले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
शुक्रबारसम्म काठमाडौंमा रहने भारतीय सेनाप्रमुखलाई बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी (प्रधानसेनापति)को दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको छ।
नरवणेको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास लिइएको जंगी अड्डाले जनाएको छ।